अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) रूकुम पश्चिमको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० का लागि सङ्कलन गरिएका घटनाहरूको प्रकाशन पुर्व वार्षिक समीक्षा कार्यक्रम पुस २ गते सदरमुकाम मुसिकोट खलङ्गामा सम्पन्न भएको छ ।
समीक्षा कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले इन्सेकले रूकुम पश्चिम जिल्लामा भएका मानव अधिकार हनन्का घटनाको सुक्ष्म तरिकाले अभिलेख गरेको भन्दै यस प्रकारका कार्यक्रमले सरोकारवालाहरूलाई जिल्लाको अवस्थाका बारेमा जानकारी गराउने बताउनुभयो ।
मानव अधिकार उल्लङ्घनका घटनाहरूको समाधान र न्याय निरूपणका लागि प्रशासन सदैव तत्पर रहेको जानकारी दिँदै प्रमुख जिल्ला अधिकारी पौड्यालले समाजमा यस प्रकारका घटना हुन नदिन सबैले आफ्नो तर्फबाट भुमिका खेल्नुपर्ने बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय, रूकुम पश्चिमका डिएसपी सुमित खड्काले इन्सेक रूकुमले सबै घटनाको पुनःपुष्टि गरेको भन्दै इन्सेकले सङ्कलन गरेको तथ्याङ्क विश्वासिलो हुने गरेको बताउनुभयो ।
पछिल्लो समय गिरफ्तारीका घटना बढेको प्रसंगमा डिएसपी खड्काले प्रतिबन्धित नेकपाका गतिविधिमा बालबालिकाको दुरूपयोगलाई कम गर्न मानवअधिकारकर्मी र संचारकर्मीले पनि ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।
रूकुम जिल्ला अदालतका श्रेस्तेदार शिवहरी सुवेदीले इन्सेकले गर्दै आएको मानव अधिकार अभिलेखिकरणका काम प्रशंसनीय रहेको बताउनुभयो ।
जिल्ला बार एकाईका अध्यक्ष एक्कबहादुर पाण्डेले छुटेका सङ्कलनमा छुटेका घटनालाई समावेश गर्न आग्रह गर्नुभयो ।
कार्यक्रमका सहभागीहरूले वर्ष पुस्तक उपयोगी भएकोले अब स्थानीय तह र वडाहरूसम्म पनि पुस्तक पुर्याउनुपर्नेमा जोड दिनुभएको थियो ।
समीक्षा कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि मनिषा केसीले सन् २०१९ जनवरीदेखि हालसम्म इन्सेकले सङ्कलन गरेका ४८ ओटा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरू प्रस्तुत गर्नुभएको थियो ।
जसमा कुटपिटका तीन ओटा, गिरफ्तारका नौ ओटा, सम्पत्ति क्षतिका दुई ओटा, बाल अधिकारसँग सम्बन्धित १० ओटा र महिला अधिकार अन्तर्गत २४ ओटा घटनालगायत रहेको जिल्ला प्रतिनिधि केसीले बताउनुभयो ।
कार्यक्रममा प्राप्त सुझावलाई समेटेर प्रतिवेदनलाई अन्तिम रूप दिइने जिल्ला प्रतिनिधी केसीले कार्यक्रममा जानकारी दिनुभयो ।



