अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनमा सिरहा जिल्लामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।

इन्सेक जिल्ला प्रतिनिधि दुर्गा परियारले असार १८ गते आयोजित कार्यक्रममा सन २०१९ को ६ महिनाको जिल्लाको मानव अधिकारको अवस्थाको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रस्तुत प्रतिवेदनमा जिल्लामा बलात्कारको घटनामा बृद्धि हुँदै गएको र महिला तथा बालबालिकाहरू पीडित हुने क्रम बढेको जिल्ला प्रतिनिधि परियारले उल्लेख गरेका थिए ।

प्रस्तुत प्रतिवेदनमा ६ महिनामा ५२ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरू अभिलेख छन । जसमध्ये बलात्कारको घटना २३ ओटा, बहुविवाहको घटना १० ओटा, महिला हत्याका घटना तीन ओटालगायतका घटनाहरू छन् ।
अन्यपक्षबाट भएका ४९ ओटा घटनाहरूमा ४७ जना महिला र दुई जना पुरूष गरी ४९ जना पीडित भएका छन भने तीन ओटा राज्य पक्षका घटनामा तीन जना पीडित भएको प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।

मानव अधिकार संरक्षण केन्द्र सञ्जालको समन्वयमा सञ्चालित कार्यक्रममा लहान नगरपालिकाकी उपपमुख सरियार चौधरीले महिला, बालबालिकाहरू बढी पीडित हुने गरेको बताइन् । न्यायिक समितिमा आउने समस्याहरू सङ्घसंस्था, प्रहरीहरूको सहयोगमा मिलापत्र गराउने गरेको बताइन् ।

जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी उमापसाद चतुर्वेदीले इन्सेकले प्रकाशन गर्ने मानव अधिकार वर्ष पुस्तकबाट हामीले सिक्ने गरेको बताए ।
प्रहरी ऐन अनुसार अपराध अनुसन्धान, शान्ति सुरक्षाको जिम्मेवारी भए पनि प्रहरीले हरेक क्षेत्रमा काम गर्नु परेको बताए ।

जिल्लामा भएका घटनाहरूलाई आफूले गम्भीररूपमा लिएको र सबैको सहकार्यमा यस्ता घटनाहरू विरूद्ध अभियान तीव्र रूपमा सञ्चालन गर्ने एसपी चतुर्वेदीले बताए ।
इलाका प्रहरी कार्यालय लहानका डिएसपी भेषराज रिजालले मानव अधिकार वर्ष पुस्तकले राष्ट्रियदेखि अन्तर्राष्ट्रिय स्तरसम्म मान्यता पाएकोले यसमा समावेश हुने प्रतिवेदनहरूको महत्व रहेको बताए ।
सामाजिक अपराधहरूमा बृद्धि भएकोले यस्ता अपराधहरूमा आफैँ सजग हुनु पर्ने बताए । घटनाहरू बढ्दै जानु भनेकै सङ्घसंस्थाहरूले आफनो अभियान तिब्र बनाएकोले हो यसको न्यूनीकरणमा पनि सबैको सहकार्य आवश्यक रहेको बताए ।