INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्षपुस्तक २०१९ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्षपुस्तक २०१९ का लागि सङ्कलन गरिएका घटनाहरूको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम गुल्मीको सदरमुकाम तम्घासमा असार ९ गते सम्पन्न गरिएको छ ।

कार्यक्रममा इन्सेक गुल्मी जिल्ला प्रतिनिधि टोपलाल अर्यालले मानव अधिकार वर्षपुस्तक २०१९ का लागि गुल्मीमा सङ्कलन गरिएका घटनाहरूको विवरण प्रस्तुत गरेका थिए ।

उनले कार्यक्रममा ६ महिनाको अवधिमा अभिलेख गरिएका बलात्कारका ६, कुटपिटको एक र घरेलु हिंसाका ३३ वटा घटनाहरू सङ्कलन गरिएको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले मानव अधिकार नागरिकले आफैँले महसुस गर्ने विषय भएकाले त्यसको प्रत्याभूति गराउने कार्य राज्यको भएको औँल्याए ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत रामचन्द्र पन्थीले मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरू इन्सेकले सार्वजनिक गरेर समाजमा सकारात्मक दबाव सृजना गर्ने काम गरेको भए पनि पर्याप्त नभएको बताए ।

मानव अधिकारको सबै क्षेत्र इन्सेक वर्षपुस्तकको फर्म्याटमा मात्रै सीमित नभएकाले दायरा फराकिलो बनाउन आग्रह गरे । जिल्ला अदालतका श्रेष्तेदार दुर्गाप्रसाद बस्यालले मानव अधिकार वर्षपुस्तकमा समेटिने घटनालाई अझ सत्यतथ्य बनाउन जिल्ला प्रतिनिधिलाई पीडितसम्म पुग्ने गरी पहुँच स्थापित गर्नुपर्नेमा जोड दिए ।

उनले कानुनका विषयमा धेरै नागरिक अनभिज्ञ भएकाले सबै सङ्घसंस्थाको पहलमा पहिले सचेतना अगाडि बढाउनुपर्नेमा जोड दिए ।

टोपलाल अर्याल

अन्य

भिडियो