INSEC Online

📅 २०८३ जेष्ठ २१

नीति निर्माण गर्दा शिक्षा, स्वास्थ्य र खाद्यलाई महत्व दिनु पर्छः सांसद सिग्देल

तनहुँ क्षेत्र नम्बर २ का सांसद केदार सिग्देलले आगामी दिनमा नीति निर्माण गर्दा शिक्षा, स्वास्थ्य र खाद्यको सवाललाई प्राथमिकता दिनु पर्ने बताएका छन् ।

इन्सेक तनहुँद्वारा म्याग्दे गाउँपालिका-३ मा पुस २५ गते आयोजित ‘शिक्षा, स्वास्थ्य र खाद्य अधिकारसम्बन्धी राज्यको नीति, कार्यक्रम र कार्यान्वयनको अवस्था’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सांसद सिग्देलले राजनीतिक अधिकार प्राप्त भइसकेपछि अबको ध्यान भनेको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्रत्याभूति गराउन काम गर्नु पर्ने बताए ।

photo20180110tanahu

आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार भित्रका शिक्षा, स्वास्थ्य र खाद्यका अधिकारहरूलाई राज्यले संविधानमा नै मौलिक हकको रूपमा समावेश गरिसकेको हुँदा अब मौलिक हक प्राप्तको लागि नीति निर्माण तहदेखि नै काम गर्नु पर्ने सांसद सिग्देलको भनाई थियो ।

मौलिक हक भनेर मात्र हुँदैन, त्यसको प्राप्तिको लागि आधारहरू पनि बनाउनु पर्ने भन्दै सांसद सिग्देलले अब सांसदको रूपमा पदभार ग्रहण गरेपछि आफ्नो ध्यान यतै विषयमा केन्द्रीत गर्ने प्रतिबद्धता जनाए ।

म्याग्दे गाउँपालिकाकी अध्यक्ष माया रानाले गाउँपालिकाले पनि शिक्षा, स्वास्थ्य र खाद्यलाई विशेष प्राथमिकतामा राखी बजेट बिनियोजन गरेको बताइन् । उनले जबसम्म नागरिकहरूमा सचेतना आउँदैन तबसम्म यस्ता अधिकार प्राप्तिमा कठिनाई हुने हुँदा आफूहरूको ध्यान क्षमता विकासतर्फपनि गएको बताइन् ।

गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले आफूहरूको गाउँ परिषद असार मसान्तमै गरिसकिएको र शिक्षा, स्वास्थ्य र खाद्यसम्बन्धी विषयगत कार्यालयहरू साउनको अन्तिममा स्थापना भएको हुँदा यस वर्ष सोचे जति बजेट विनियोजन गर्न नसकेपनि आउँदा दिनमा यसलाई प्राथमिकता दिने प्रतिबद्धता जनाए ।

सो कार्यक्रममा नेकपा एमाले तनहुँका उपाध्यक्ष श्रीप्रसाद श्रेष्ठले गाउँपालिकाको कार्यक्रम पारदर्शी हुनु पर्ने भन्दै नागरिकको अधिकार प्रत्याभूति हुने गरी कार्यक्रम र योजना बनाउन पहल गर्न सुझाव दिए । त्यसैगरी नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य डिलबहादुर नेपालीले पनि नागरिकले प्रत्यक्ष अनुभूति हुने गरी कार्यक्रम र योजना बनाउनु पर्ने बताए ।

जिल्लास्तरीय मानव अधिकार निगरानी समूहका अध्यक्ष रामलिला सुवर्णाकरको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा वडा अध्यक्षहरूको तर्फबाट म्याग्दे गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष पदमराज वाग्ले, कार्यपालिका सदस्यहरूको तर्फबाट बद्रीका घिमिरे, मानव अधिकार निगरानी समूह म्याग्देका संयोजक भिमबहादुर बिक, निगरानी समूहका सदस्य श्रीभद्र आचार्य, बाल अधिकार चेतना समूहका संरक्षक शिक्षक श्रीकान्त घिमिरे, स्थानीय शिक्षक रामभक्त घिमिरे, आमा समूहकी केशरी बराललगायतले मन्तव्य राखेका थिए ।

प्रकाशचन्द्र भट्टराई

अन्य

भिडियो