स्थानीय स्तरमा रहेका सवाललाई मानव अधिकार निगरानी समूहले उठान गरेमा स्थानीय सरकारले पहिलो सम्बोधन गर्ने भीमेश्वर नगरपालिकाकी उपप्रमुख कमला बस्नेतले बताइन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले भिमेश्वर नगरपालिका-८ बोचमा सञ्चालन गरेको मानव अधिकार निगरानी समूहका सदस्य तथा निर्वाचित प्रतिनिधिहरूलाई क्षमता अभिबृद्धि तथा अभिमूखीकरण तालिम समापनका अवसरमा बस्नेतले भनिन्-‘स्थानीय स्तरमा जनताका थुप्रै सवाल छन् । ति सवाल उठान निगरानी समूहले गर्नुपर्छ र त्यसको सम्बोधनलाई नगरपालिकाले प्राथमिकतामा राख्छ ।’
उनले थपिन्-‘निगरानी समूह सचेत वर्गले प्रतिनिधित्व गरेको छ । समुदायका लैङ्गकि, जातीय, भौगोलिक, वर्गीय रूपमा कमजोर रहेको समुदायका आवाजलाई बोल्ने काम निगरानी समूहले गर्नु पर्छ ।’

उपप्रमुख बस्नेतले शिक्षा, स्वास्थ्य, खाद्यका सवालमा मात्र नभै समुदायका हरेक गतिविधिको बारेमा जानकारी लिएर खबरदारी गर्न र स्थानीय सरकारका प्रतिनिधिले गरेका हरेक काम अनुगमन गरी सुझाव दिन समेत आग्रह गरिन् ।
कार्यक्रममा इन्सेक प्रदेश ३ का संयोजक कृष्ण गौतमले मानव अधिकार निगरानी समूहका सदस्यले नागरिक र राजनीतिक अधिकारका मात्र कुरा नगरी आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारलाई समेत उठान गर्न आग्रह गरे ।
आर्थिक, सामाजिक अधिकारमा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवाल उठान गरी सेवा प्रवाह गर्ने निकायलाई थप जिम्मेवार र जबाफदेहीतामा निगरानी समूहको भूमिका महत्वपूर्ण हुने बताए ।
असोज ८ र ९ गते सञ्चालित तालिम इन्सेक र यसले सञ्चालन गरेको अभियान, स्थानीय सरकारले जनतालाई उपलब्ध गराउने सेवा सुविधा, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार स्थानीय जनताको पहुँच, विकास, मुलुकी फौजदारी कार्यविधि ऐन २०७४ लगायत विषयमा केन्द्रीत थियो ।
तालिममा इन्सेक प्रदेश ३ का संयोजक गौतम, भीमेश्वर नगरपलिकाका वरिष्ठ अधिकृत जगदिश अर्याल, अधिवक्ता प्रोणप्रताप केसी, हुराडेक नेपालका अध्यक्ष होम पाठक, इन्सेक जिल्ला प्रतिनिधि उद्धव पोखरेलले प्रशिक्षण दिएका थिए ।
उद्धव पोखरेल