लेकवेशी नगरपालिकाका प्रमुख गगनसिं सुनारले लेकवेशी नगरपालिकामा निःशुल्क र अनिवार्य शिक्षा प्रदान गर्न नगरपालिका प्रतिबद्ध रहेको बताउनु भएको छ ।
इन्सेक सुर्खेतले पुस २४ गते लेकवेशी नगरपालिकामा आयोजना गरेको शिक्षाको ‘अधिकार र हाम्रो अवस्था’ विषयक अन्तरक्रियामा बोल्दै नगरप्रमुख सुनारले सो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
नगरप्रमुख सुनारले लेकवेशी नगरपालिका भित्रका विद्यालय भन्दा बाहिर रहेका बालबालिकाहरूलाई आगामी शैक्षिक सत्रदेखि अनिवार्य रूपमा विद्यालयमा भर्ना गराउने र शुल्क रहित शिक्षा उपलब्ध गराउन लागिपर्ने बताउनुभयो । उहाँले गुणस्तरिय शिक्षा उपलब्ध गराउनका लागि सबै सरोकारवालाहरूसँग समन्वय गरी नगरपालिका अघि बढ्ने बताउनुभयो ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका लेकवेशी नगर सभापति प्रतिमान बाकाबलले संविधानले निःशुल्क र अनिवार्य शिक्षाको व्यवस्था गरेपनि लेकवेशी नगरपालिकामा अभिभावकबाट शुल्क उठाउने गरिएको र अझैपनि कयौँ बालबालिका विद्यालय भन्दा बाहिर रहेकोले यसलाई समाधान गर्न नगरपालिका तत्पर भई लाग्नुपर्ने बताउनुभयो ।
मानवअधिकार समुहका अध्यक्ष निरुकुमारी थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजसेवी पुर्णप्रसाद शर्मा, महिला अधिकारकर्मी निर्मला आचार्य, अपाङ्गता भएका व्यक्तिहरूको अधिकारका क्षेत्रमा कार्यरत् होमबहादुर परियार र नगरपालिकामा रहेको सामाजिक विकास शाखाका प्रतिनिधि डिलाराम आचार्य लगायतले निःशुल्क र अनिवार्य शिक्षा व्यवहारमै लागु गरिनुपर्ने भनाई राख्नुभएको थियो ।
कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, अधिकारकर्मी, मानव अधिकार समुहका सदस्य तथा शिक्षक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

सिरहामा जिल्ला स्तरीय बाल भेला समपन्न, १९ सदस्यीय जिल्ला बाल सञ्जाल गठन
सिरहामा जिल्ला स्तरीय बाल भेला ०८३ जेठ २० गते सम्पन्न