INSEC Online

📅 २०८३ जेष्ठ २१

नागरिक समाजको सकारात्मक छवि निर्माणको सवाल विषयक अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा चैत ८ गते “नागरिक समाजको सकारात्मक छवि निर्माणको सवाल” विषयक जिल्ला स्तरिय अन्तरक्रिया कार्यक्रम चौतारामा सम्पन्न भएको छ ।

Photo20170321Sindhupalchok

कार्यक्रममा बोल्दै गैरसरकारी संस्था महासङ्घका जिल्ला अध्यक्ष सोम सापकोटाले नाफारहित रूपले खोलिएका सङ्घ संस्थाका प्रतिनिधिलाई समाजमा नागरिक समाज भन्ने गरेको र जिल्लामा तत्कालिन राजाको प्रत्यक्ष शासनकालमा होस् वा सशस्त्र द्वन्द्वको समयमा नागरिक समाजले खेलेको भूमिका महत्वपूर्ण हुँदाहुँदै हालको अवस्थामा नागरिक समाजको भूमिका पहिलेको जस्तो नभई फुट र गुटमा विभाजन भएको बताए ।

नेपाल पत्रकार महासङ्घका जिल्ला शाखाका सचिव दिनेश थापाले द्वन्द्वको समयमा जिल्लाका नागरिक समाजले जसरी भूमिका निर्वाह गरे पछिल्लो परिवर्तित समयमा नागरिक समाजको भूमिका उल्लेख्य हुन नसकेको भन्दै नागरिक समाजले आफ्नो आचरण तथा व्यवहारमा सुधार गर्नुपर्ने बताए ।

नेपाल बार इकाइकी प्रतिनिधि सुनिता लामाले वर्तमान सन्दर्भमा नागरिक समाजको भूमिका महत्वपूर्ण हुँदाहुँदै पनि उल्लेख्य रूपमा आफ्नो भूमिका निर्वाह गर्न नसकेको बताइन् ।

कार्यक्रममा पत्रकार, मानव अधिकारकर्मी, कानुन व्यवसायीलगायत विभिन्न सङ्घ संस्था प्रतिनिधि गरी २८ जनाको सहभागिता रहेको थियो ।

नातिबावु धिताल

अन्य

भिडियो