देवचुलीमा नगरपालिकामा तेस्रो नवलपुर बालिका सम्मेलन २०८० असोज ३० गते सम्पन्न भएको छ ।
युवा, बालबालिका तथा बालिकाका सवालमा क्रियाशील जागृति बाल तथा युवा सरोकार नेपाल (जेसिवाईसिएन) र क्यान्नालन स्वीजरल्याण्डको आयोजना तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र ( इन्सेक ), केयर नेपाल, ओरेक, किडार्क द गार्डेन अफ होप फाउण्डेसन, बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा गण्डकी प्रदेश सांसद पद्मा जिसी श्रेष्ठले बाल अधिकार र बालिका अधिकारका सवालमा तिनै तहको सरकारको अपनत्व रहने गरी नीतिगत तहमा आफूले भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा बालिका सशक्तिकरण अभियानमा लाग्न नपाएका भर्खर युवावस्थामा प्रवेश गरेका विभिन्न क्षेत्रका महिला र अभियानमा जोडिएर अभियानको सहजीकरणमा लागेका बालिकाहरुबीच सामूहिक छलफल भएको थियो । छलफलमा समग्र बालिकाहरुको समस्या, चुनौती, अवसर, सम्भावनाको चित्रण प्रस्तुत गरिएको थियो ।
दोस्रो चरणको समापन समारोहले १५ बुँदे घोषणा पत्र जारी गरेको थियो । १५ बुँदे घोषणापत्रमा बालिकाहरुले आफ्ना मागहरुलाई बुँदागत रुपमा प्रस्तुत गरेका थिए । जसमा उनीहरुले आफुले पाउनुपर्ने हक, अधिकार र कर्तव्यका बारेमा समेत समावेश गरेका थिए ।
उक्त सम्मेलनमा नवलपुर, चितवन, रुपन्देही र कपिलवस्तुका बालिका सञ्जालका पदाधिकारी तथा अभियन्ताहरुको उपस्थिति रहेको थियो ।
अभियानमा जोडिएर लागेकी रुपन्देहीकी सुनिता हरिजनले आफू किशोरावस्थामा चलिरहदा अहिले नै विभिन्न सामाजिक क्षेत्र, समूह, सञ्जालहरुमा बसेर अनुभव संगाल्ने अवसर प्राप्त गरेको बताउनुभयो । अझै थुप्रै बालबालिकालाई सशक्तिकरणको अभियानमा पहुँच पुर्याउन नसकिएकोले स्थानीय तह गम्भीर हुनुपर्ने सुझाव समेत उहाँले दिनुभयो ।

