INSEC Online

📅 २०८३ जेष्ठ २१

दलितका अधिकार कार्यान्वयन गर्न तीनै तहका सरकार जिम्मेवार बन्नुपर्छः अध्यक्ष विश्वकर्मा

राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले दलित समुदायका अधिकारलाई कार्यान्वयन गर्न तीनै तहका सरकार जिम्मेवार बन्नुपर्ने बताउनु भएको छ । ०८१ मङ्सिर २० गते नीति फाण्डेशनको आयोजना र इन्सेकको समन्वयमा वीरेन्द्रनगरमा आयोजित दलित विद्यार्थीको गुणस्तरीय शिक्षामा पहुँच सुनिश्चितताका लागि प्रदेश सरकारको भूमिका विषयक छलफल कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो । ‘सिमान्तकृत दलित समुदायलाई संविधानले थुप्रै अधिकार दिएको छ । तर ती अधिकारहरू कार्यान्वयन भएको देखिँदैन । त्यसका लागि तीनै तहका सरकारले जिम्मेवार हुनैपर्छ । त्यसका लागि हामीले स्थानीयदेखि प्रदेश सरकारसँग समन्वय गरिहेका छौँ’ – अध्यक्ष विश्वकर्माले भन्नुभयो ।

उहाँले दलित विद्यार्थीले शिक्षामा समान पहुँच नपाएको तथ्यप्रति ध्यानाकर्षण गराउँदै संविधानले प्रत्याभूत गरेको मौलिक हकलाई व्यवहारमा लागु गराउनुपर्नेमा जोड दिनुभयो । उहाँले शैक्षिक क्षेत्रमा हुने विभेद र दलित समुदायमाथिको आर्थिक, सामाजिक, र सांस्कृतिक अवरोध हटाउन सरकार र सरोकारवाला निकाय सक्रिय हुनुपर्ने बताउनु भयो । दलित विधेयकलाई सरकारले प्राथमिकताका साथ पास गर्नुपर्ने उहाँको भनाइ छ ।

कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले प्रदेश सरकार दलित विद्यार्थीको गुणस्तरीय शिक्षाको लागि गम्भीर भएको बताउँदै दलित समुदायको शैक्षिक स्थिति सुधारका लागि आगामी बजेटमा विशेष प्राथमिकता दिने प्रतिवद्धता जनाउनुभयो । दलित समुदायको शिक्षामा पहुँच बढाउन बालशिक्षादेखि नै जोड दिनुपर्ने उहाँको भनाइ छ । कर्णाली प्रदेश सभाका सांसद रणसिंह परियारले प्रदेशमा शिक्षा ऐन बनाउन आवश्यक रहेको औँल्याउनुभयो । अर्की सांसद उर्मिला विश्वकर्माले दलित विधेयकलाई पास गरेमात्रै दलित समुदायको गुणस्तरीय शिक्षामा पहुँच बढ्ने बताउनु भयो ।

शिक्षा विकास निर्देशनालयका निमित्त निर्देशक दीपा हमालले कर्णालीमा शिक्षा क्षेत्रका विशेष चुनौतीहरूमध्ये दलित विद्यार्थीको समस्या गम्भीर रहेको उल्लेख गर्दै सङ्घीय, प्रदेश र स्थानीय सरकारबीच समन्वय गरेर समाधान खोज्नुपर्नेमा जोड दिनुभयो ।

इन्सेक कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीले दलित समुदायको श्रम, सीप र उत्पादन गरेका वस्तुहरू बिक्री गर्न सके गुणस्तरीय शिक्षामा सहयोग पुग्ने बताउनु भयो । उहाँले वादी सरोकार मञ्चका अध्यक्ष हिक्मत वादीले दलित बालबालिका विद्यालय जानुपर्ने उमेरमै श्रम गर्न बाध्य हुने अवस्था बदल्न प्रभावकारी नीति र कार्यक्रम ल्याउनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले दलित समुदायको शिक्षाको पहुँच सुनिश्चित नगरेसम्म समाजमा समानता र समृद्धि सम्भव नरहेको बताउनु भयो । उहाँले विद्यालयमा दिइने दिवा खाजाले समेत दलित समुदायका बालबालिकालाई प्रोत्साहन गरेको भन्दै त्यसको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेम जोड दिनुभयो ।

कार्यक्रममा सहभागी अन्य वक्ताहरूले दलित विद्यार्थीलाई उचित छात्रवृत्ति, शिक्षण सामाग्री र विशेष शिक्षण कार्यक्रम उपलब्ध गराउने विषयमा सुझाव दिएका थिए । सहभागीहरूले दलित विद्यार्थीको शिक्षामा हुने अवरोध हटाउन सरकार र गैरसरकारी क्षेत्र मिलेर प्रभावकारी योजना बनाउने प्रतिबद्धता जनाएका छन् । दलित समुदायको शैक्षिक अधिकार र अवसरलाई सुनिश्चित गर्न विभिन्न निकायका प्रतिनिधिले महत्त्वपूर्ण विचार राखेका छन् । कार्यक्रममा प्रदेश सभाका सांसद, प्रदेशका मन्त्री र नागरिक समाजका व्यक्तिहरूको समेत उपस्थिति रहेको थियो ।

Photo06122024Surkhet

अन्य

भिडियो