अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सिरहामा सञ्चालन गरेको शिक्षाको अधिकारसम्बन्धी कार्यक्रम अन्तर्गत जिल्लास्तरीय शैक्षिक बहस असार २५ गते सम्पन्न गरेको छ ।

शिक्षा क्षेत्रको बेथिति सुधारका निम्ति राज्यका नीति र जिल्लामा सञ्चालित कार्यक्रमबारे जिल्लास्तरीय सेवा प्रदायक र सेवाग्राहीबीच बहस कार्यक्रम गरिएको हो ।
सिरहाका जिल्ला शिक्षा अधिकारी अरबिन्दलाल कर्णले जिल्लामा शिक्षा क्षेत्रमा भएको बेथिति सुधार गर्न आफूले आएदेखि नै सम्पूर्ण सरोकारवालाहरूसँग समन्वय गरी सुधारको प्रयास गरिरहेको बताए ।

संस्थागत विद्यालयहरू कानुन विपरीत सञ्चालनमा रहेकाले आफूले कानुनको अधिनमा रही त्यस्ता विद्यालयहरूलाई बन्द गराएको उनले बताए । शिक्षा कार्यालय अन्तर्गत ३४ करोड बेरुजु रहेकोमा आफूले ११ करोड बेरुजु फस्र्योट गराएको बताउँदै कर्णले शिक्षा क्षेत्रलाई सुधार गर्न सम्पूर्ण सरोकारवालाहरूको समन्वय र सहकार्यको आवश्यकतामा जोड दिए ।

कार्यक्रममा इन्सेकद्वारा कार्यक्रम सञ्चालित तीन ओटा सरकारी विद्यालयलाई एक/एक थान कम्प्यूटर हस्तान्तरण गरिएको थियो । श्री राममहन्थी यादव मावि, धमियाइन मावि र जनता माविमा इन्सेकद्वारा उक्त कम्प्यूटर हस्तान्तरण भएको इन्सेकका जिल्ला सहजकर्ता जागेश्वर यादवले बताए ।
दुर्गा परियार