INSEC Online

📅 २०८३ जेष्ठ २१

जिल्लास्तरीय मानव अधिकार निगरानी समूह गठन

इन्सेकद्वारा सञ्चालित ‘स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने (इएलपी) कार्यक्रम अन्तर्गत पुस १० गते जिल्लास्तरीय मानव अधिकार निगरानी समूहको गठन गरिएको छ ।

आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारका सवाल, शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालहरूका बारेमा अनुगमन, सरोकारवाला निकायहरूसँग समन्वय, सहकार्य गर्न र सेवाप्रदायक निकायहरूलाई जिम्मेवार हुन दबाव सिर्जना गर्दै जिम्मेवार निकायहरूलाई जवाफदेही बनाउने उद्देश्यले जिल्ला स्थित अधिकारकर्मी, नागरिक समाज, कानुन व्यावसायी र सञ्चारकर्मीहरूको उपस्थितिमा सो समूह गठन गरिएको हो ।

जिल्ला वार एसोसिएशन सुर्खेतका अध्यक्ष नन्द भण्डारीको अध्यक्षता गठित समितिका सदस्यहरूमा नेपाल पत्रकार महासङ्घ सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारती, मानव अधिकारका लागि एकल महिला समूहकी केन्द्रीय सदस्य रामकुमारी थापा, दलित महिला सङ्घ सुर्खेतकी अध्यक्ष मञ्जु सुनार, राष्ट्रिय उपभोक्ता मञ्चकी कोषाध्यक्ष लक्ष्मी वली, वातावरण सुधार समाजकी सूचना अधिकृत शोभा ढकाल, सुन्दर नेपालका कार्यकारी निर्देशक भुपेन्द्र कँडेल, समाज जागरण केन्द्र (स्याक) का कार्यक्रम संयोजक ओमप्रकाश सुवेदी, र सिविन नेपाल सुर्खेतकी संयोजक सुभेच्छा खड्का रहेकी छिन् । समुहको सदस्य सचिवमा इन्सेक जिल्ला प्रतिनिधि एवम् जिल्ला कार्यक्रम सहजकर्ता दुर्गा थापा रहेका छन् ।

निगरानी समूहले जिल्ला स्तरमा घट्ने जुनसुकै मानव अधिकार उल्लङ्घनका घटनाहरूको अनुगमन, आर्थिक, सामाजिक, सांस्कृतिक तथा शिक्षा स्वास्थ्य र खाद्य अधिकारको सवालमा जिल्ला तथा साहारे र मालारानी गाविसमा अन्तरक्रिया, सम्वाद, छलफल तथा बहस र पैरवी गर्नेछ ।

दुर्गा थापा

अन्य

भिडियो