स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने परियोजना अन्तर्गत इन्सेक सिन्धुपाल्चोकको आयोजनामा जिल्लास्तरीय परियोजना सल्लाहकार समितिको बैठक जेठ ३१ गते चौतारामा सम्पन्न गरिएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङको अध्यक्षतामा भएको बैठकमा जिल्ला समन्वय समतिका उपप्रमुख, शिक्षा विकास तथा समन्वय इकाई, जिल्ला पशुसेवा कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, आँखा केन्द्रका प्रमुख, गैसस महासङ्घका सल्लाहकार, पत्रकार माहासङ्घका प्रतिनिधि, पत्रकार, महिला मानव अधिकारकर्मी, मानव अधिकार निगरानी समूहका प्रतिनिधिलगायत सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमको अध्यक्षता गर्दै जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले मानव अधिकार निगरानी समूहले अधिकारमात्र नभएर नागरिकहरूको कर्तव्यसमेत बताउनु पर्ने कुरामा जोड दिए ।
शिक्षा विकास तथा समन्वय इकाई प्रमुख गौरीशङ्कर पाण्डेले इन्सेकको कार्यक्रम राम्रो भएकाले जिल्लाका सबै विद्यालयहरूमा बाल अधिकार चेतना समूह गठन गरी परिचालन गर्न इन्सेकलाई सुझाव दिए ।
जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा. प्रतिमा विष्टले बर्तमान समयमा खाद्य अधिकारलाई सचेतनामार्फत सबै नागरिकसामु लैजानुपर्नेमा जोड दिइन् ।
नातिबावु धिताल