INSEC Online

📅 २०८३ जेष्ठ २१

जग्गा उपलब्ध गराउन भूमिहिनको आग्रह

सल्यानका भूमिहिन तथा सुकुम्बासीहरूले बास बस्ने जमिन उपलब्ध गराउन सरकारलाई आग्रह गरेका छन् ।

०७७ फागुन २१ गते सल्यान खलङ्गामा इन्सेक सल्यानले आयोजना गरेको आवासको अधिकारसम्बन्धी सरोकारवालाबीचको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरूले आफ्नो नाममा एक घर र आफ्नै जमिनमा हलो जोतेर जिविकोपार्जन गर्ने चाहाना रहेका बताएका हुन् ।

पुस्तौंदेखि ऐलानी जग्गामा बस्दै आएको तर आफ्नो नाममा एक टुक्रा पनि जमिन नभएको शारदा नगरपालिका–३ संगीत टोलकी अनिता गन्दर्भले बताउनुभयो । उहाँले भन्नुभयो ‘आफूजस्तो सुकुम्बासी आउँदो पुस्ता नबनोस, छोरा छोरीको साथमा जग्गाधनीको प्रमाण पत्र होस ।’

यस्तै आफ्नो नाममा जग्गा नहुँँदा केही पेशा व्यवसाय गर्न पनि निकै समस्या हुने गरेको शान्तिनगरकी निर्मला वादीले बताउनुभयो ।

20210308 Salyan 1

भूमिहिन, सुकुम्बासी तथा अव्यवस्थित रूपमा बस्दै आइरहेका नागरिकलाई सरकारले जमिनको व्यवस्था गर्न थालेको भूमि सम्बन्धि समस्या समाधान आयोग सल्यानका अध्यक्ष लोकबहादुर डाँगीले बताउनुभयो । नेपालमा २०११ सालदेखि भूमि समस्या समाधान गर्न पहल भइरहेपनि यस आयोगले भूमिहिन, सुकुम्बासी र अव्यवस्थित रूपमा बस्दै आइरहेका नागरिकलाई जग्गा उपलब्ध गराउने दावी गर्नुभयो ।

जिल्लामा भूमिहिन, सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेहरूको लगत संकलन कार्य भइरहेको उहाँले बताउनुभयो । सरकारले भूमिहिन तथा सुकुम्बासीलाई घरका लागि ३ सय ४० वर्गमिटर र खेतीपातीका लागि ३ हजार वर्गमिटर जमिन उपलब्ध गराउनेमा जोड दिनुभयो ।

इन्सेकको इएलपी परियोजनाका संयोजक रामचन्द्र रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण इन्सेक जिल्ला प्रतिनिधि मिना बुढाथोकीले गर्नु भएको थियो ।

20210308 Salyan 2

अन्य

भिडियो