अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश ३ कार्यालय काठमाडौँको आयोजनामा जनप्रतिनिधि र मानव अधिकार निगरानी समूहका सदस्यहरूका लागि आयोजित दुई दिने क्षमता अभिबृद्धि तथा अभिमूखीकण तालिम असोज ७ गते थुम्पाखरमा सम्पन्न गरिएको छ ।
स्थानीय समुदायलाई सचेत बनाउँदै जिम्मेवार निकायलाई जबाफदेही बनाउने (इएलपी) परियोजना सञ्चालन भएको लिसङ्खुपाखर गाउँपालिकको–७ ठूलोपाखर र सुनकोशी गाउँपालिका–६ थुम्पाखरका स्थानीय जनप्रतिनिधि, मानव अधिकार निगरानी समूहका पदाधिकारीहरू, स्वास्थ्य संस्थाका प्रमुखहरू, कृषि कार्यालयका प्रमुखहरू तालिममा सहभागी भएका थिए ।
इन्सेक प्रदेश ३ कार्यालयका संयोजक कृष्ण गौतमले इन्सेकको कार्यक्रम सञ्चालन भएका वडाका जनप्रतिनिधि र मानव अधिकार निगरानी समूहका सदस्यहरूको क्षमतामा विकास पुर्याउने उद्धेश्यले तालिमको आयोजना गरेको बताए ।
सुनकोशी गाउँपालिका–६ थुम्पाखरका वडा अध्यक्ष रामकुमार थापाले मानव भएर जन्मेपछि मान्छे जस्तै भएर बाँच्नको लागि मानव अधिकार अपरिहार्य भएको बताए ।
जिल्ला वार इकाइका सदस्य सशिनाथ आचार्यले भने–‘नयाँ कानुन देशमा लागु भएको छ । तर, सो कुराको सचेतना आम नागरिकहरूमा पुगिसकेको छैन । अब त्यसलाई नागरिकस्तरमा पुर्याउनु पर्छ ।’

नातिबावु धिताल