बजेटको खर्च प्रणालीमा आएको सुधार र जनताको सक्रियताले सरकारी काममा पारदर्शिता बढ्दै गरेको सरोकारवालाहरूले जनाएका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) दैलेखको आयोजनामा डुङ्गेश्वर गाउँपालिका–१ बेलपाटामा माघ १८ गते गरिएको सेवाप्रदायक र सेवाग्राहीबीचको अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले यस्तो सुनाएका हुन् ।
इन्सेकको इएलपी परियोजना अन्तर्गत गएको भदौमा गरिएको एक कार्यक्रममा वडा नं. १ र ६ का जनप्रतिनिधिहरूले शिक्षा, स्वास्थ्य र खाद्य अधिकार सवालसम्बन्धी जनाएका प्रतिवद्धतापछि व्यवहारिक परिवर्तन आएको सेवाग्राहीले बताए ।
त्यसबेला उठेको सवाल मध्ये विद्यालयमा कम्प्यूटर कक्षा सैद्धान्तिक पक्ष मात्र पढाइन्छ भनी समस्या दर्शाएका विद्यार्थीहरू अहिले विद्यालयमा कम्प्यूटरसम्बन्धी अभ्यास गर्न पाएको त्रिवेणीसङ्गम मावि चुप्राकी छात्रा टीका खत्रीले सुनाइन् ।
अन्तरक्रियाकै क्रममा डुङ्गेश्वर गाउँपालिका–१ बेलपाटाकी मनकुमारी बिकले गाउँगाउँमा सिंहदरवार नारा लगाएर स्थानीय तहमा बजेट बढाएपछि सडक निर्माण, लक्षित समुदायको क्षमता विकास र सामाजिक विकृति विरूद्ध सचेतना अभियान बढेको अनुभव सनाइन् ।
डुङ्गेश्वर गाउँपालिका–१ का वडाध्यक्ष लोकबहादुर डाँगीले गाउँपालिकाको श्रोतले भ्याएसम्म निःशुल्क स्वास्थ्य सेवा, कृषिमा व्यवसायिकता, शिक्षाको गुणस्तर अभिबृद्धि गर्न लगानी गरिरहेको बताए । उनले भने–‘जनताको खबरदारीले हामीलाई उत्साह थपेको छ । पारदर्शिता पनि बढाएको छ ।’


अमर सुनार