
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा बटेश्वर गाउँपालिका–४ स्थित श्री शिव शक्ति माध्यमिक विद्यालयमा गठन गरिएको बालअधिकार सचेतना समूहले ०८० मङ्सिर १३ गते सोही गाउँपालिकाको बजार चौकमा जनचेतनामूलक सडक नाटक प्रदर्शन गरेको छ ।
मानव अधिकारको प्रत्याभूति र सरोकारवाला निकायहरूलाई ध्यानाकर्षण गराउनको लागि सडक नाटक प्रभावकारी हुने गरेको संरक्षक शिक्षक लोक हरि खतिवडाले बताउनु भयो । त्यस्तै, मधेसमा व्याप्त रुपमा देखिएको बाल विवाह, असमान शिक्षा, महिला हिंसा, दाइजो प्रथा जस्ता कुसंस्कारलाई न्यूनिकरण गर्न सडक नाटक जस्ता जनचेतनामूलक कार्यक्रमहरू ग्रामिण भेगमा रहेका विपन्न तथा अति पिछडिएका समुदायलाई केन्द्रित गर्नु पर्नेमा बालअधिकार चेतना समूहका अध्यक्ष कृति कापरले जोड दिनु भयो ।
बटेश्वर गाउँपालिका मानव अधिकार समूहका अध्यक्ष सुरज महत्तोले शिक्षा र स्वास्थ्यको क्षेत्रमा देखिएको असमानता, महिला हिंसा तथा महिलाविरूद्व हुने सबै किसिमका विभेदलाई अन्त्य गर्न बाल अधिकार सचेतना समूहका बालबालिकाहरूले प्रस्तुत गरेको जनचेतनामूलक सडक नाटक धेरै नै प्रशंसनीय रहेको बताउनु भयो ।
उक्त सडक नाटक प्रस्तुती सँगसँगै “लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता, महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता” भन्ने मूल नाराका साथ १६ दिने अभियान बटेश्वार गाउँपालिकाको आयोजना, प्रदेश युवा संजाल, मानव अधिकार समूह मधेस प्रदेश र इन्सेक मधेस प्रदेशको समन्वयमा र्याली तथा हस्ताक्षर संकलन कार्यक्रम सम्पन्न गरिएको संजालका निवर्तमान इन्चार्ज पुजा साहले बताउनु भयो ।
सडक नाटक प्रदर्शनमा ज्योति कुमारी साह, काजल कुशवाहा, प्रिति कुमारी महतो, नागेन्द्र सिंह,राजु महतो, धिरज सिंह महतो, विवेक महतो, रमिला रूचाल, अनिशा सिंह कुशवाहा, सत्य नारायण ठाकुर, सृजना शर्मा, हिरा कुमारी यादव, अनिता कुमारी महतो, कृति कापर लगायतको सहभागिता रहेको धनुषा जिल्ला सहजकर्ता शिवजी परियारले जानकारी दिनु भयो ।

