इन्सेक तनहुँको आयोजनामा वैशाख ३१ गते म्याग्दे गाउँपालिका-७ रानिस्वारा स्थित बेदकालिका प्राविमा जङ्कफुड नियन्त्रणको लागि अभिभावकहरुलाई सचेतना कार्यक्रम आयोजना गरियो ।
जङ्कफुडको प्रयोगले हुने असरको बारेमा अभिभावकलाई जानकारी गराउने र विद्यालयलाई जङ्कफुड मुक्त बनाउने उद्धेश्यले सो कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा बोल्दै म्याग्दे गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष पद्मराज वाग्लेले अब गाउँपालिकका सबै विद्यालय चाँडै नै जङ्कफुड मुक्त बनाउने अभियान सुरू भएको हुँदा अभिभावकले आफ्ना छोराछोरीलाई विद्यालय पठाउँदा जङ्कफुड नपठाउन अनुरोध गरे ।
विद्यालयलाई जङ्कफुड मुक्त गरेपछि विद्यालयमा नै विद्यार्थीलाई खाजाको व्यवस्थापन गरिने अध्यक्ष वाग्लेले बताए ।

सो कार्यक्रममा सहजीकरण गर्दै म्याग्दे गाउँपालिका स्वास्थ्य शाखाका हेल्थ असिस्टेन्ट नवराज गौतमले जङ्कफुडको रूपमा चिनिने बिस्कुट, चाउचाउ, चटपट, चिजवल्स, कुरकुरे, पेय पदार्थ, अमिलो, पानी पुरीलगायतका खाजाहरू आफ्ना बालबालिकालाई नखुवाउन अनुरोध गरे । उनले जङ्कफुडले स्वास्थ्यमा पार्ने दिर्घकालीन असरको बारेमा अभिभावकहरूलाई जानकारी गराएका थिए ।
सो कार्यक्रममा सहभागी अभिभावकहरूले आफूहरूलाई यसअघि जङ्कफुडको बारेमा कसैले पनि जानकारी नगराएको भएपनि अबदेखि आफ्ना छोराछोरीलाई त्यस्तो खाजा नपठाउने र विद्यालय आउँदा पैसा पनि नदिने बताए । जङ्कफुडको सट्टामा घरमै खाजा बनाएर छोराछोरीलाई विद्यालय पठाउने अभिभावकहरूले प्रतिबद्धता जनाए ।
विद्यालयका प्रधानाध्यापक सम्भुबहादुर रानाभाटले अब बालबालिकाले खाजाको रूपमा जङ्कफुड लिएर आएको भेटिए उक्त खाजा विद्यालयले नै खोसेर राखिदिने अभिभावकहरूलाई जानकारी दिए । इन्सेक प्रतिनिधि प्रकाशचन्द्र भट्टराईले गाउँपालिकाका सबै सामुदायिक विद्यालयलाई जङ्कफुड मुक्त बनाउने कार्यक्रम सञ्चालन भइरहेको हुँदा सबै अभिभावकहले त्यसमा सहयोग गर्नु पर्ने बताए ।
कार्यक्रममा मानव अधिकार निगरानी समूह मनपाङका संयोजक भिमबहादुर बिकले जङ्कफुडको प्रयोगमा निशेध गर्नुपर्नेमा जोड दिएका थिए ।
प्रकाशचन्द्र भट्टराई