INSEC Online

📅 २०८३ जेष्ठ २१

चिसोमा काँप्दै चौकी कुर्छन् प्रहरीः डिएसपी कार्की

हिमालपारीको जिल्ला मुस्ताङको लोमन्थाङमा जाडोको समयमा पनि प्रहरी चिसोमा काँप्दै आफ्नो जिम्मेवारी बहन गरिरहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका डिएसपी तुलबहादुर कार्कीले बताउनुभएको छ । उक्त कुरा उहाँले इन्सेक प्रदेश कार्यालय पोखराले जोमसोममा आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० को प्रकाशन पूर्व समीक्षा कार्यक्रममा बताउनु भएको हो ।

डिएसपी कार्कीले पहाड तथा तराईकै जस्तो कपडाको भरमा माइनस १० डिग्री भन्दा चिसो हुने मुस्ताङको लोमन्थाङ, छोन्हुप, छोसेरलगायता स्थानमा प्रहरी ड्युटीमा खटेको बताउनु भयो ।

उहाँले भन्नु भयो–‘राज्यले दिएको जिम्मेवारी पुरा गर्न कुनै कसर प्रहरीले बाँकी नराखेको भएपनि चिसोमा अलिक न्याना कपडा आवश्यक छ ।’ उहाँका अनुसार उपल्लो मुस्ताङको चिसो थेग्ने प्रकारको प्रहरीले प्रयोग गर्ने कपडा नै छैन ।

मुस्ताङका निमित्त प्रमुख जिल्ला अधिकारी घनश्याम गौतमले महिलाहरू अरूमा आश्रित नभइ आत्मनिर्भर भएको कारणले गर्दा मुस्ताङमा महिला हिंसाका घटनाहरू नहुने बताउनुभयो ।

उहाँले जिल्लाको उपल्लो भेगका लोमन्थाङमा स्वास्थ्य प्राविधिक नभएर जनतालाई स्वास्थ्य सेवा लिन असहज छ भन्ने कुरा थप्नुभयो ।

घरपझोङ गाउँपालिकाकी महिला बालबालिका अधिकृत सरिता थकालीले मुस्ताङमा १४ वर्ष भन्दा मुनिका बालबालिकाहरूलाई श्रममा नलगाइएको बताउँदै जिल्लामा ५ देखि ९ वर्ष उमेर समूहका बालबालिका शिक्षा लिनबाट कोही पनि वञ्चित नरहेको बताउनुभयो ।

उहाँले घरपझोङ गाउँपालिकाको न्यायिक समितिमा अहिले सम्म कुनै पनि लिखित उजुरी नपरेको बताउनुभयो ।

कार्यक्रममा जिल्ला कारागार मुस्ताङका जेलर विनोद अर्यालले २०३७ साल भन्दा पहिला बनेको कारागार भवनमा अहिले राखिएका १० जना कैदीबन्दीहरूलाई भौतिक पूर्वाधार राम्रो नहुँदा राख्न पनि निकै मुस्किल भएको बताउनुभयो ।

photo20191225mustang1

photo20191225mustang2

photo20191225mustang3

photo20191225mustang4

photo20191225mustang5

photo20191225mustang6

अन्य

भिडियो