डिसिएको आर्थिक सहयोगमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशले घरेलु हिंसा घटनाकी पीडित जनकपुरधाम उपमहानगरपालिका-६ घर भइ हाल हंसपुर नगरपालिका-५ माइती बस्दै आएकी २३ वर्षीया सहनाज खातुनलाई ०८२ वैशाख १६ गते १० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ ।
पीडित खातुनले न्यायका लागि पहल र आर्थिक अवस्था कमजोर रहेकाेले सहयोग गरिदिनुहुन भनि इन्सेक मधेस प्रदेश कार्यालयमा वैशाख ७ गते निवेदन दिएकी थिइन् । उक्त निवेदनको आधारमा पीडितलाई आर्थिक सहयोग गरेको इन्सेक मधेस प्रदेशका संयोजक राजु पासवानले बताउनु भयो ।
पीडित महिलाको विवाह सात वर्ष अगाडि जनकपुरधाम उपमहानगरपालिका-६ का ३२ वर्षीय तसिप अन्सारीसँग भएको र उनीहरूको दाम्पत्य जीवनबाट ०७५ साउन १५ गते जेठी छोरीको जन्म भएको र ०७७ चैतमा कान्छी छोरीको जन्म भएको निवेदनमा उल्लेख गरिएको छ । दुई ओटा छोरी मात्र जन्माएको भन्दै पति र सासुले गालिगलौज तथा कुटपिट गरेको पीडितले निवेदनमा उल्लेख गरेकी छिन् ।
त्यसैगरी, पीडितका अनुसार पति वैदेशिक रोजगारीबाट घर फर्केपछि ०८१ पुस ३० गते उनले साना खातुन नाम गरेकी एक युवताीसँग निकाह गरी सोही दिन घरमा ल्याई मलाई कुटपिट गरी घरबाट निकाली दिएको बताइन् । पीडितले पुन: आफ्नो पतिको घरमा प्रवेश गर्न जिल्ला प्रहरी कार्यालय, धनुषामा निवेदन दिएको र प्रहरीले छलफलका लागि दुवै पक्षलाई कार्यालयमा बोलाई छलफल गराएको भए तापनि हालसम्म न्याय नपाएको पीडितले बताइन् । साथै आरोपित पक्षले पीडितलाई घरमा प्रवेश गर्न नदिन जिल्ला अदालतबाट निषेधाज्ञा समेत जारी गाएको पीडित पक्षले बताए ।
आर्थिक अभावका कारण पीडित न्याय पाउनबाट वञ्चित नहोस र पीडितको न्यायमा सहज पहुँच पुगोस भनि इन्सेक मधेस प्रदेशले मानव अधिकार सहायता कक्ष मार्फत आर्थिक सहयोग प्रदान गरेको इन्सेक मधेस प्रदेश कार्यालय, जनकपुरधामका प्रलेख अधिकृत मोहनकुमार चौधरीले बताउनु भयो ।