घरेलु हिंसा घटनाका पीडित महिलालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८१ मङ्सिर ६ गते न्यायिक प्रक्रियामा सहयोग पुगाउने उद्धेश्यले आर्थिक सहयोग प्रदान गरेको छ ।
कञ्चनपुर जिल्ला वेदकोट नगरपालिका–३ की ३६ वर्षीया सुमित्रा गिरीलाई न्यायिक प्रक्रियाका लागि इन्सेकले आर्थिक सहयोग प्रदान गरेको हो ।
पीडित महिलाको पारिवारिक आर्थिक अवस्था कमजोर भएकाले न्यायिक प्रक्रियामा जानका लागि समस्या भएको भन्दै मानव अधिकार सहायता कक्षमा निवेदन दिनु भएको थियो । सोही निवेदको आधारमा इन्सेक सुदूरश्चिम प्रदेश कार्यालय, धनगढीले आर्थिक सहयोग स्वरुप १० हजार रुपियाँ प्रदान गरेको हो ।
आर्थिक अभावका कारण पीडितहरुले न्याय पाउनबाट वञ्चित हुन नपरोस् र पीडितको न्यायमा सहज पहुँच पुगोस् भन्नका लागि इन्सेकले मानव अधिकार सहायता कक्ष मार्फत आर्थिक सहयोग प्रदान गर्दै आएको इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका संयोजक खडकराज जोशीले बताउनु भयो ।
बर्दगोरिया गाउँपालिका—३ बुटकौवाका ३८ वर्षीय पति महेन्द्रराज गिरीले सम्बन्धविच्छेदको मुद्दा कैलाली जिल्ला अदालतमा दर्ता गरेपछि ०८१ साउन २९ गते प्रतिउत्तर–पत्र जिल्ला अदालतमा चढाएको भए पनि आर्थिक अभावका कारण कानुनी प्रकृयालाई निरन्तरता दिन समस्या उत्पन्न भएकोले मानव अधिकार सहायता कक्षमा निवेदन दिएको पीडित महिलाले बताउनु भयो ।
इन्सेकले गरेको आर्थिक सहयोगका कारण आफूलाई न्यायिक प्रक्रियामा जान सहज् हुने उहाँले बताउनु भयो ।