स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने कार्यक्रम अन्तर्गत जिल्ला शिक्षा कार्यालय मोरङ तथा अन्य सरोकारवालाहरूबिच चैत ३१ गते विराटनगरमा शिक्षा अधिकारका सवाल र सरोकारवालाहरूको अनुभूति विषयक अन्तरक्रिया सम्पन्न भएको छ ।

इन्सेक क्षेत्रीय कार्यालय विराटनगर र मानव अधिकार निगरानी समूह मोरङको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा सहभागीहरूले सामुदायिक विद्यालय व्यवस्थित ढङ्गले सञ्चालन हुन नसकेका कारण गुणस्तरीय शिक्षा प्रदान गर्न नसकिएको बताए । सहभागीहरूले विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षकसँगै अभिभावक र विद्यार्थी सबैको भूमिका सकारात्मक भएमात्र गुणस्तरीय शिक्षा प्रदान गर्न सकिने बताए ।
सो अवसरमा मोरङको बुधनगर, भातिगछका मानव अधिकार निगरानी समूहका प्रतिनिधि तथा विद्यार्थीहरूले विद्यालयमा शिक्षकहरू ढिलो आउने र चाँडो फर्कने हुँदा कोर्स पुरा नहुने गरेको गुनासो गरे । उनीहरूले खाजा भत्ता, छात्रवृति समयमै नदिने र पारदर्शी नभएकोसमेत आरोप लगाए ।
छलफलकै क्रममा सो क्षेत्रभित्र पर्ने विद्यालयका प्रधानाध्यापकहरूले शिक्षकहरू ढिलो आउने र चाँडो जाने गरेको कुरा स्वीकार्दै आगामी दिनमा त्यसमा सुधार गरिने प्रतिबद्धता जनाए । जनता मा.वि. भातिगछका प्रधानाध्यापक सिताराम मण्डलले शिक्षकको कमीकमजोरी सुधार्ने बताउँदै अभिभावकहरूले पनि व्यवस्थापन समितिमा बस्न झगडा गर्ने तर विद्यालय व्यवस्थापन, गुणस्तर बृद्धि, विद्यालय भर्ना र ड्रपआउट रोक्न सहयोग नगर्ने गरेको आरोप लगाए ।
जिल्ला शिक्षा कार्यलय मोरङका उप-जिल्ला शिक्षा अधिकारी दिब्यराज कट्टेलले समयमा विद्यालय नआउने र पुरा समय नपढाउनेलाई कारबाही गरिने बताए । उनले विकट ठाउँमा शिक्षकहरू समयमै पुग्ने तर सजिलो ठाउँमा हेलचेक्रयाईँ गर्ने गरेको भन्दै अनुगमन गर्ने बताए ।
इन्सेक क्षेत्रीय कार्यालय विराटनगरका संयोजक सोमराज थापाले शिक्षा बिना आँखा भएर पनि नदेख्ने हुने भएकोले परिवर्तित सन्दर्भमा गुणस्तरीय शिक्षा प्रदान गर्दै बालबालिकालाई सक्षम बनाउन सबैले पहल गर्नुपर्ने बताए ।
इन्दिरा भट्टराई