बनगाड कुपिण्डे नगरपालिकाको सल्लीबजारमा मङसिर २८ गते सरोकारवालाहरूबिच खाद्य अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम (इएलपी) परियोजना अन्तर्गत आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले खाद्य अधिकारका विषयमा छलफल गरेका थिए ।
स्थानीय निमबहादुर बुढाले बजारमा खाद्यवस्तुमा मिसावट भएको र मुल्य सूची नभएकोले उपभोत्ताहरूलाई समस्या भएको बताउनुभयो ।
स्थानीय एग्रोभेट सञ्चालक खिमलाल बस्नेतले कुन विषादी बेच्ने वा नबेच्ने भन्ने विषयमा जानकार भएपनि नेपाल सरकारले सूचीकृत गरेका विषादी बेच्नलाइ नगरपालिकाले मापदण्ड बनाएर सबैलाई नियमन गरेमा सहज हुने भनाइ राख्नुभयो ।
यसैगरी अर्का सहभागी गणेश बिसीले कृषीमा विनियोजन गरेको बजेट कार्यान्वयन नभएको हुँदा नगरपालिकाले बजेटको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।
नगरपालिकाका कृषि शाखा प्रमुख टीका जैसीले गत वर्ष नगरपालिकाले प्रतिबद्धता गरेको किसान र एग्रोभेट सञ्चालकका बिचमा गर्ने भनेको कार्यक्रम कोभिडका कारणले सञ्चालन गर्न नसकेको बताउनुभयो ।
वडा नम्बर–१ का अध्यक्ष शान्तबहादुर यरीले सहभागीले उठाएका सवालहरूलाई कार्यपालिकामा पेश गर्ने र कार्यान्वयन गराउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
इन्सेकद्वारा नपामा गठित मानव अधिकार समूहका सदस्य इन्द्र बुढाथोकीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण परियोजनाका संयोंजक रामचन्द्र रेग्मीले गर्नु भएको थियो ।
