अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कालिकोटको आयोजना तथा मानव अधिकार समूह शुभकालिका गाउँपालिकाको समन्वयमा खाद्य अधिकार सम्बन्धी सरोकावालाबिच अन्तरक्रिया कार्यक्रम असोज ९ गते शुभकालिकामा सम्पन्न भएको छ ।
कार्यक्रममा गाउँपालिका स्तरिय कृषि समुह संघका अध्यक्ष डम्मर भट्टराइले किसानहरूले रैथाने बालिको आधुनिक उत्पादनकासाथै उचित संरक्षण गर्न नसक्दा खाद्यान्न अभाव हुने गरेको बताउनुभयो । कृषि पेशामा लागेका व्यक्ति र स्थानीय उत्पादनप्रति सम्मान हुन नसकेका कारण खाद्यान्न उत्पादन गर्नेहरू घट्दै गएको उहाँले गुनासो गर्नु भयो ।

शुभकालिका गाउँपालिका कृषि शाखाका निमित्त प्रमुख चन्द्रप्रकाश अधिकारीले उत्पादन क्षेत्र धेरै भएपनि कृषकहरूलाई समयमै आवश्यक मल, बीउ दिन नसक्दा गाउँपालिकामा तीन महिनाभन्दा धेरै खान पुग्ने परिवार नभएको बताउनुभयो ।
साथै उहाँले अधिकांश परिवार आफ्नो उत्पादनबाट एक महिना मात्र खान पुग्ने रहेको र बाँकी ११ महिनाको लागि भारतमा ज्यालादारी गरेर खाद्यान्न तथा तरकारी खरिद गरी परिवार पाल्नु पर्ने बाध्यात्मक अवस्था रहेको जानकारी गराउनुभयो ।
कार्यक्रममा मानव अधिकार समूह शुभकालिकाका सचिव दिपराज विकले गाउँपालिकाका कुनैपनि बजार क्षेत्रका पसलमा अनुगमन नभएकाले यसतर्फ गाउँपालिकाको ध्यानाकर्षण गराउनुभयो ।
कार्यक्रममा शुभकालिकाका विभिन्न शाखाका कर्मचारी, कृषक समूह, अविभावक, मानव अधिकार समूहका पदाधिकारी, शिक्षक, विद्यार्थी लगायतका सरोकारवालाको सहभागिता रहेको थियो ।
