अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कपिलवस्तु र मानव अधिकार समूह बाणगङ्गाको संयुक्त आयोजनामा असोज १२ गते बाणगगा नगरपालिकामा खाद्य अधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका नगरपालिकाका सामाजिक विकास संयोजक भिष्मराज भुसालले इन्सेकले सञ्चालन गरेको कार्यक्रमले जिम्मेवार निकायलाई जवाफदेही बनाउनुको साथै जिम्मेवारी समेत बोध गराएको बताउनु भयो ।
संयोजक भुसालले नगरपालिकामा प्रदेशको सुरक्षित आवास अन्तरगत २ सय ३४ घरलाई टिनको पाता बितरण गरिएको, पिपरा अस्पतालाई गुणस्तरिय स्वास्थ्य सेवा प्रवाहका लागि पहल भइरहेको बजार अनुगमनलाई निरन्तरता दिइने बताउनु भयो ।

उहाँले शिक्षा, स्वास्थ्य , खाद्य र आवासको अधिकार नागरिकको आधारभुत आवस्यकता भएकोले ती समस्या रहुन्जेल नगरपालिका सम्मृद्ध हुन नसक्ने भएकोले त्यसतर्फ ध्यान दिनु पर्ने महशुस भएको बताउनु भयो ।
कृषि विकास शाखा प्रमुख लेषवहादुर केसीले कानुन, कार्यविधि , ऐन भएपनि कार्यान्वयन फितलो हुँदा कतिपय काममा कठिनाई भएको बताउनु भयो ।
कृषि शाखाले किसानहरूको मागका आधारमा बजेट बनाउने गरेको बताउदै राज्यले दिने सेवासुविधा उपलब्ध गराएको जानकारी दिनु भयो ।
यसैगरी, पशु सेवा शाखा प्रमुख राजकुमार तिवारीले अरूलाई दोष दिनु भन्दा पनि जिम्मेवार हुनु पर्ने बताउनु भयो । उहाँले किसानले उत्पादन गरेका वस्तुहरू बिक्री वितरण गर्दासम्म हेर्ने जिम्मेवारी सम्बन्धित निकायको भएको बताउनु भयो ।
कपिलवस्तु उद्योग बाणिज्य सङ्घका पूर्व अध्यक्ष उमानाथ पौडेलले राज्यले बनाएका ऐन, कानुन र नितीलाई ब्यवहारमा कार्यान्वय गर्न सकेमात्र उपभोक्ताहरूले अधिकार प्राप्त गर्ने बताउनु भयो ।