INSEC Online

📅 २०८३ असार १२

क्षमता अभिवृद्धि तालिम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा सञ्चालित कियोस परियोजना अन्तर्गत गठित मानव अधिकार निगरानी समूहका सदस्य तथा सरोकारवालाहरूका लागि आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी तालिम फागुन २ गते जनकपुरमा सम्पन्न गरिएको छ ।

स्थानीय समुदायको शिक्षा, स्वास्थ्य तथा खाद्य अधिकारका लागि जिम्मेवार निकायहरूलाई उत्तरदायी बनाउन मानव अधिकार निगरानी समूह तथा सरोकारवालाहरूको क्षमता अभिवृद्धि गर्न उक्त तालिमको आयोजना गरिएको हो ।

तालिममा क्षिरेश्वरनाथ नगरपालिकाका मेयर योगेन्द्र पञ्जियारले शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका लागि आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै यसका लागि निगरानी गरिदिन र सल्लाह, सुझाव दिन आग्रह गरे ।

यि क्षेत्रमा कार्य गर्न नगरपालिकामा विषयगत समिति समेत रहेको हुँदा उक्त समितिले गर्ने कार्यको निगरानी गर्न सकिए शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सुधार हुँदै जाने उनले बताए । यसका लागि नगरपालिकासँग समन्वय गरेर सहयोगी भूमिका निर्वाह गर्नु जरुरी रहेको उनको भनाई थियो ।

इन्सेक प्रदेश २ का संयोजक राजु पासवानले आवाज विहीनहरूको आवाज बनेर स्थानीय समुदायमा शिक्षा, स्वास्थ्य र खाद्य अधिकार क्षेत्रमा कार्य गर्न यो तालिम प्रभावकारी हुने बताए ।

राज्यका निकाय तथा सरोकारवाला निकायसँग समन्वय, सहकार्य गरेर ग्रामीण तहका जनताको अधिकार प्रत्याभूत गर्न मानव अधिकार निगरानी समूहले महत्वपूर्ण भूमिका खेल्नु पर्नेमा उनले जोड दिए ।

क्षिरेश्वरनाथ नगरपालिकाका प्रशासकीय अधिकृत उपसचिव इन्द्रदेव यादवले मानव भएर जन्मेपछि मानव भएर बाँच्न मानव अधिकार जरूरी रहेको बताए ।

मानव अधिकार राज्यले प्रत्याभूत गर्ने विषय भएको उल्लेख गर्दै उनले जनताका अधिकार प्रत्याभूतिका लागि नगरपालिका इन्सेकसँग मिलेर सहकार्य गर्ने बताए ।

राष्ट्रिय मानव अधिकार अयोगका अधिकृत इन्द्रजित सहनीले जनताका आधारभूत अधिकार गास, बास र कपास तथा स्वास्थ्यका कुरा रहेको उल्लेख गर्दै क्षिरेश्वरनाथ नगरपालिकाले जनताको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सुनिश्चितका लागि प्राथमिकता दिने विश्वास व्यक्त गरे ।

तालिममा निगरानी समूहका पदाधिकारी तथा सरोकारबाला निकायहरु गरी २८ जनाको सहभागिता रहेको थियो ।

photo20190215dhanusha (1)

photo20190215dhanusha (2)
इन्सेक प्रदेश २ कार्यालय, जनकपुरधाम

अन्य

भिडियो