INSEC Online

📅 २०८३ जेष्ठ २१

कोभिड–१९ नियन्त्रणमा सबैपक्षको सहभागिता आवश्यक : मानवअधिकार समूह

मानवअधिकार समूह कावासोती नगरपालिका र विनयीत्रिवेणी गाउँपालिकाले कोभिड–१९ को यो विषम परिस्थितिमा सबैलाई हातेमालो गर्दै अगाडि बढ्न अपिल गरेको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठन गरिएको मानवअधिकार समूह कावासोतीका अध्यक्ष द्रौपदी गुरौं र विनयीत्रिवेणी गाउँपालिकाका अध्यक्ष धर्मबहादुर जि.सीले जेठ २३ गते छुट्टाछुट्टै प्रेस विज्ञप्ति जारी गर्दै कोभिड–१९ को कारण सबै क्षेत्र प्रभावित भएको हुनाले अहिलेको अवस्थामा सबैपक्षको सहयोग, सक्रियता र सर्तकताले कोभिड–१९ लाई परास्त गर्न सकिने भन्दै सबैलाई हातेमालो गर्दै अगाडि बढ्न अपिल गर्नुभएको हो ।

मानवअधिकार समूह कावासोती नगरपालिकाका अध्यक्ष गुरौंले कावासोती नगरपालिका जिल्लाको सदरमुकाम भएको कारण हाल छुट्टै आइसोलेशन व्यवस्थापन नभएपनि कावासाती–१३ सहितका केही वडामा स्थानीयहरूको पहलमा आइसोलेशन समेत निमार्ण हुन स्वागत योग्य कार्य भएको बताउनुभयो ।

मानवअधिकार समूह विनयीत्रिवेणी गाउँपालिका अध्यक्ष जिसीले कोभिड–१९ को दोस्रो लहर सुरू भएसँगै सङ्क्रमितको उपचारको लागि आइसोलेशनको व्यवस्थापन, अक्सिजनको आपूर्ती, एम्बुलेन्सको व्यवस्थापनमा गाउँपालिकाले खेलेको भूमिका उदारणीय रहेको भन्दै विनयीत्रिवेणीको दक्षिणमा रहेका ६ र ७ नम्बर वडाका स्थानीयलाई स्वास्थ्य उपचारको प्रबन्ध मिलाउन सबै पक्ष एकबद्ध भएर लाग्नुपर्ने बताउनुभयो ।

उहाँहरूले जारी गर्नुभएको विज्ञप्तिमा अन्य स्थानमा जस्तै कोभिड–१९ सङ्क्रमितको सङ्ख्याको तुलनामा आइसोलेशन बेडको सङख्या, होम आइसोलेशनमा बसेकाहरूको उपचारमा स्थानीयतहको प्राथमिकता लगायतका केही सवालहरूमा गाउँपालिका सहित सबै सरोकारवाला निकायहरूको ध्यान पुग्न जरूरी रहेको उल्लेख गर्नुभएको छ । सङ्क्रमितहरूको आकस्मिक उपचारको प्रबन्ध लगायतका विषयमा सबै पक्ष थप गम्भीर बन्न जरूरी रहेको विज्ञप्तिमा उल्लेख रहेको छ ।

कोभिड–१९ को कारण प्रभावित शिक्षा, स्वास्थ्य, खाद्य लगायतका सवालमा समेत सबै पक्षको ध्यान पुग्न आवश्यक रहेको भन्दै महामारीको कारण रोजगारी गुमाएका विपन्न परिवारहरूको लागि दैनिक खाद्यान्नको व्यवस्थापन, बन्द रहेका शैक्षिक गतिविधि र जनतालाई आकस्मिक सहित सबै स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न तर्फ स्थानीयतह, जनप्रतिनिधि र सरोकारवाला सहित सबैको ध्यान पुग्न आवश्यक रहेको विज्ञप्तिमा उल्लेख छ ।

Photo20210606Nawalpur1

photo20210606Nawalpur2

अन्य

भिडियो