अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा कोभिड-१९ को महामारीमा मानव अधिकार रक्षकको अवस्था अध्ययन प्रतिवेदनमाथि छलफल कार्यक्रम असोज १४ गते धनगढीमा सम्पन्न गरिएको छ ।
इन्सेक सुदूपश्चिम प्रदेश, संयोजक खडकराज जोशीले कोभिड–१९ महामारीको पहिलो लहरमा अग्रपङ्तिमा खटिएका स्वास्थ्यकर्मी, पत्रकार, सुरक्षाकर्मी तथा मानव अधिकारकर्मीहरूको अवस्थाका बारेमा इन्सेकले गरेको अध्ययन प्रतिवेदनसँग सम्बन्धित विषयमा सुझावका लागि आग्रह गर्नु भयो ।
सामाजिक विकास मन्त्रालयका प्रवक्ता तथा कोभिड–१९ फोकल पर्सन नरेन्द्रसिंह कार्कीले सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहबिच समन्वयको अभाव तथा स्पष्ट नीतिको अभावका कारण प्रदेश सरकारलाई काम गर्न अप्ठेरो परेको बताउनु भयो ।
सेती प्रादेशिक अस्पतालका फिजिसियन डाक्टर शेरबहादुर कमरले कोभिड–१९ महामारी विश्वको लागि चुनौती भएको अवस्थामा कोभिड–१९ सङ्क्रमितहरूसँग प्रत्यक्ष रूपमा दिनरात नभनी काम गरेको भए पनि मनोवल बढाउने काम नभएको गुनासो गर्नु भयो ।
सेती प्रादेशिक अस्पतालकी नर्सिङ प्रमुख सिमा शर्माले कोभिड–१९ महामारीको पहिलो लहरमा स्वास्थ्कर्मीले स्रोत साधानको अभावमा जोखिम मोलेर काम गर्नु परेको भएपनि परिवार र समाजबाट तिरस्कृत भएर बस्नु परेको बताउनु भयो ।
राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधि गणेशराज जोशीले कोभिड–१९ महामारी स्वास्थ्य सङ्कटकालिन अवस्थामा अग्रपङ्तिमा खटिने स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई राज्यले सम्मान गर्नु पर्ने बताउनु भयो ।
दलित महिला अधिकार मञ्चकी अध्यक्ष सावित्रा घिमिरेले कोभिड–१९ महामारीमा महिला मानव अधिकार रक्षकहरू बढी जोखिममा रहेर काम गरिरहेको अवस्थामा पनि राज्यले कामप्रतिको मुल्याङ्कन गर्न नसकेको आरोप लगाउनु भयो ।



