INSEC Online

📅 २०८३ जेष्ठ २१

कानूनी प्रक्रियामा जान पीडित पत्रकारलाई इन्सेकको आर्थिक सहयोग

रास्कोट नगरपालिका–८ का २८ वर्षीया करविरे विश्वकर्मालाई इन्सेकले कानुनी प्रक्रियामा जानका लागि ०८२ असार २ गते १० हजार रुपियाँ सहयोग प्रदान गरेको छ ।

समाचारको विषयलाई लिएर रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाही र उहाँको सचिवालयमा रहेकाहरुले मार्ने धम्की दिएपछि आफूलाई कानुनी प्रक्रियामा जान समस्या भएको भन्दै पीडितले इन्सेक कर्णाली प्रदेश कार्यालयमा सहयोगको लागि जेठ २८ गते निवेदन दिनुभएको थियो ।

पीडितको निवेदन प्राप्त भएपछि इन्सेकले सञ्चालन गर्दै आएको मानव अधिकार सहायता कक्षको निर्णय अनुसार सहयोग हस्तान्तरण गरिएको हो ।

पीडितले रास्कोट नगरपालिकामा अनियमितता भएको विषयलाई विभिन्न समयमा ज्वाला खबर अनलाइन मिडियामा प्रकाशन गरेपछि आरोपित पक्षबाट धम्की आएको भन्दै जिवन रक्षाको लागि जेठ ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो ।

धम्कीका कारण जुम्ला विस्थापित भइ बसेका पीडित विश्कर्मालाई इन्सेक कर्णाली प्रदेश कार्यालय, जिल्ला प्रतिनिधिको पहलमा असार २ गते कालिकोट जिल्ला सदरमुकाम मान्ममा पुग्नु भएको छ ।

आर्थिक अवस्था कमजोरका कारण पीडितलाई जिल्ला सदरमुकाममा कानुनी प्रक्रियाका लागि जान समस्या भएकोले पीडितलाई इन्सेकले १० हजार रुपियाँ पीडितको बंैक खातामा जम्मा गरेको हो ।

सहयोग पाएपछि पीडित विकले कानुनी प्रक्रियामा जान सहयोग भएको भन्दै इन्सेकलाई धन्यवाद दिनुभयो । साथै उहाँले आफूलाई निरन्तर धम्की आइरहेको हुनाले इन्सेकको सहयोग अझै आवश्यक रहेको बताउनु भयो । जिल्ला सदरमुकाम आएपछि इन्सेक जिल्ला प्रतिनिधिले प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखसँग पीडित विकको सुरक्षाको विषयमा सहजिकरण गरेका थिए ।

आर्थिक अवस्था कमजोर भएका कारण कानुनी प्रक्रियामा जान नसकेको र गम्भीर प्रकृतिका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाका पीडितलाई मानव अधिकार सहायता कक्षले सहयोग गर्दै आएको इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले जानकारी दिनुभयो ।

अन्य

भिडियो