इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतले लैङ्गिक हिंसा तथा जातीय विभेदका विषयमा कानुनी सचेतना कार्यक्रम साउन २६ गते वीरेन्द्रनगरनपाको ११ नम्बर वडामा सम्पन्न गरेको छ ।
बिशेष गरि वादि समुदायलाइ लक्षित गरी सञ्चालन गरिएको कानुनी सचेतना कार्यक्रममा बोल्दै पुर्व कार्यपालिका सदस्य तथा वादि अगुवा बिष्णु वादिले कानूनी सचेतना कार्यक्रम जीवन उपयोगी भएको बताउँदै सहभागीहरू कानुनका विषयमा सचेत भएको बताउनु भयो । यस कार्यक्रमबाट समुदाय स्तरमा हुने साना तिना बिभेदका र लैङ्गिक हिंसाका घटनाहरु न्यूनीकरण हुने र व्यवहारमा सकारात्मक परिवर्तन हुने बताउनु भयो ।
कार्यक्रम बोल्दै मुख्य सहजकर्ता बरिष्ठ अधिवक्ता कृष्ण हमालले नेपालमा लैङ्गिक हिंसा सम्बन्धी नीतिगत र कानुनी व्यवस्था, नेपालमा लैङ्गिक हिंसाका प्रकृति र जोखिम, जातीय विभेद लगायतका विषयमा सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा इन्सेकका फोकल पर्सन दुर्गा थापाले समुदायमा आर्थिक अवस्था कमजोर भएका कतिपय व्यक्तिले हिंसा सहेर बस्ने गरेको बताउँदै त्यस्ता पीडितका सवालमा इन्सेकले मानव अधिकार सहायता कक्षमार्फत न्यायिक प्रकृयामा जानका लागि सहयोग गर्दै आएको जानकारी दिनुभयो ।
नेपालले अन्तर्राष्ट्रिय स्तरमा गरेका प्रतिबद्धता, सन्धी र महासन्धीमा हस्ताक्षर गरी जनाएको ऐक्यबद्धता , नेपालको संविधानले निर्दिष्ट गरेका मानव अधिकारका मूल्य मान्यतालाई इन्सेकले पैरवीमार्फत थप सुदृढ गराउन भूमिका खेल्दै आएको इन्सेकका फाकल पर्सनले बताउनु भयो ।
सहभागीहरूले झेल्दै आएका कानुनी समस्याका विषयमा राखेका जिज्ञासामा कार्यक्रमका सहजकर्ता बरिष्ठ अधिवक्ता कृष्ण हमालले स्पष्ट पार्नु भएको थियो ।
कार्यक्रममा साेही नपा –११ मा रहेका बिभिन्न टोलका अगुवा महिला, पुरुष, किशोर किशोरी समेत गरी ४५ जना कार्यक्रममा सहभागि रहेको अधिकार दुई परियोजनाका कार्यक्रम संयोजक किरण पौडेलले जानकारी दिनुभयो।


