आर्थिक अवस्था कमजोर भई कानुनी प्रक्रियामा जानका लागि इन्सेक मधेश प्रदेश कार्यालयले ०८२ मङ्सिर ३ गते २३ वर्षीया महिलालाई १० हजार रुपियाँ सहयोग प्रदान गरेको छ ।
पीडितको आर्थिक अवस्था कमजोर रहेको कारण न्यायिक प्रक्रियामा सहयोग हुने उदेश्यले सो रकम उपलब्ध गराइएको इन्सेक मधेस प्रदेशका संयोजक राजु पासवानले बताउनु भयो ।
पीडितले न्यायिक प्रक्रियामा सहयोग गरिदिन भन्दै ०८२ कात्तिक २८ गते इन्सेक सर्लाही प्रतिनिधि बुधन साहलाई निवेदन दिनु भएको थियो।
पीडित महिलालाई ०८२ वैशाख २४ गते विष्णु गाउँपालिका-४ का २७ वर्षीय रामछविला साहले बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो।
पीडित महिलाको स्वास्थ्य परीक्षण जेठ ९ गते सर्लाही जिल्ला अस्पतालमा गरिएको थियो। आरोपित साह हालसम्म फरार रहेकोले खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सरोज राईले बताउनु भयो।