बलात्कार घटनाका पीडित बालिकालाई कानुनी प्रकृयामा जानका लागि इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८२ मङ्सिर ९ गते आर्थिक सहयोग प्रदान गरेको छ ।
१७ वर्षीया सुस्तमनिस्थिति भएकी बालिकालाई कानुनी प्रक्रियामा जान सहज होस् भन्ने उद्धेश्यले पीडित बालिकाकी आमालाई आर्थिक सहयोग रकम प्रदान गरिएको हो ।
पारिवारिक आर्थिक अवस्था कमजोर भएकाले न्यायिक प्रक्रियामा जानका लागि समस्या भएको भन्दै पीडित बालिकाकी आमाले इन्सेकद्वारा सञ्चालित मानव अधिकार सहायता कक्षमा निवेदन दिएपछि इन्सेक सुदूरश्चिम प्रदेश कार्यालय, धनगढीले आर्थिक सहयोग स्वरुप १० हजार रुपियाँ प्रदान गरेको हो ।
पीडित बालिकालाई ०८१ भदौ २३ गते टिकापुर नगरपालिका—५ का २४ वर्षीय विर्जु चौधरीले बलात्कार गरेको आरोपमा पीडित पक्षले ०८२ साउन ११ गते ईलाका प्रहरी कार्यालय, टिकापुरमा उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन ११ गते टिकापुर अस्पताल, टिकापुरमा गरिएको थियो ।
आर्थिक अभावका कारण पीडितहरुले न्याय पाउनबाट वञ्चित हुन नपरोस् र पीडितको न्यायमा सहज पहुँच पुगोस् भन्नका लागि इन्सेकले मानव अधिकार सहायता कक्ष मार्फत आर्थिक सहयोग प्रदान गर्दै आएको इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालयका कार्यक्रम अधिकृत राजकुमार चौधरीले बताउनु भयो ।