इन्सेकले गरेका कार्यक्रम सम्बन्धमा समाज कल्याण परिषदका प्रतिनिधिको टोलीले जिल्ला समन्वय समिति, सुर्खेतका प्रमुख गंगाराम सुनार र जिल्ला समन्वय अधिकारीसँग चैत २७ गते छलफल गर्नु भएको छ ।
छलफल कार्यक्रममा समाज कल्याण परिषदका अनुगमन तथा मुल्याङ्कन संयोजक बलराम देवकोटा, इन्सेकका प्रदेश संयोजक नारायण सुवेदी, कार्यक्रम अधिकृत परिस्कृत पौडेल, जिल्ला समन्वय, सुर्खेतका प्रमुख गंगाराम सुनार, समन्वय अधिकारी मेघनाथ सापकोटा लगायतका व्यक्ति सहभागि हुनु भएको थियो ।
छलफलमा समन्वय प्रमुख सुनारले इन्सेकले कोभिडको समयमा स्थानीय तहसँग समन्वय गरी स्वास्थ्य सामग्री वितरण गर्ने लगायतका काम गरेको बताउनु भयो । पछिल्लो समयमा जिल्ला समन्वयसँगको सहकार्यमा इन्सेकले सुर्खेतका न्यायिक समितिका संयोजक लगायत सदस्यलाई क्षमता अभिवृद्धि कार्यक्रम, मानव अधिकार सम्बन्धी पाँचौ राष्ट्रिय कार्ययोजना र कार्यन्वयनको अवस्था, चौकुनै पालिकाको रेक्चामा खानेपानीको अभावका कारण बस्ती उठनुपर्ने समस्या लगायतका विषयमा सहकार्य गरी काम गरिरहेको बताउनु भयो ।
इन्सेकले मानव अधिकार सम्बन्धी पाँचौ राष्ट्रिय कार्ययोजना कार्यान्वयनका लागि लगातार पैरवी गरेका कारण सुर्खेतमा ६ पालिका स्तरीय र एक जिल्ला स्तरीय समिति गठन भएको समन्वय प्रमुखले जानकारी गराउनु भयो ।
आगामी दिनमा इन्सेकले ग्रामिण क्षेत्रमा रहेका महिलाको क्षमता अभिवृद्धि गर्ने खालका कार्यक्रम संचालन गर्न समन्वय प्रमुख सुनारले इन्सेकलाई सुझाव दिनु भएको छ ।
समाज कल्याण परिषदका प्रतिनिधि देवकोटाले इन्सेक कर्णाली प्रदेश कार्यालयमा कार्यरत कर्मचारीसँग चैत २७ गते छलफल गर्नु भएको छ । छलफलका क्रममा संस्थाले आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारसँग सम्बन्धीत गरेका कार्यक्रम, उपलब्धी, सिकाई, चुनौती, अभिलेख व्यवस्थापन, संस्थाको आर्थिक, प्रशासनिक नियमावली लगायतका विषयमा समाज कल्याण परिषदका प्रतिनिधि देवकोटाले छलफल गर्नु भएको थियो ।

