INSEC Online

📅 २०८३ जेष्ठ २१

इन्सेकद्वारा दोलखामा निर्वाचन पूर्व अनुगमन

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको पूर्व तयारी,  आचारसंहिताको पालना, सुरक्षा प्रबन्ध लगायतका विषयमा इन्सेकद्धारा ०८२ फागुन १७ गते दोलखाका मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख लयागतसँग भेटवार्ता र छलफल सम्पन्न भएको छ ।

मुख्य निर्वाचन अधिकृत एवम् न्यायधीश राम प्रसाद न्यौपानेले मतपत्र, मतदान स्थल र मतदाताको सुरक्षामा विशेष तयारी गरिएको साथै नियुक्ती पत्र वितरण र कर्मचारी खटनपटन लगायतका कार्यहरु फागुन १७ गते सम्म सम्पन्न गरी मतदान स्थलमा पठाउने व्यवस्था मिलाइएको बताउनु भयो । उहाँले माननीय गृहमन्त्री, कार्यवाहक प्रमुख निर्वाचन आयुक्त, नेपाली सेनाका बलाधिकृत रथि, सहयाक रथी, सशस्त्र प्रहरी महानिरीक्षक, नायब महानिरीक्षिक, चार वटै सुरक्षा निकायका प्रदेश प्रमुखहरु, प्रदेशका प्रमुख सचिव र निर्वाचन आयोगका पदाधिकारीहले ०८२ फागुन १५ गते दोलखाको सुरक्षा संवेदनशिलताका सम्बन्धमा निरीक्षण समेत गरेको बताउनु भयो ।

उहाँले आचारसंहिता विपरितका लिखित उजुरी प्राप्त नभएको बताउदै मौखिम उजुरीहरुमा तत्काल कारवाही गरी घटनाहरु दोहोरिन नदिन आचारसंहिता अनुगमन समितिका पदाधिकारीहरुलाई निर्देशन दिएको बताउनु भयो ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी हरी प्रसाद घिमिरेले आचारसंहिता उल्लंघनमा भन्दा परिपालनामा प्रतिस्पर्धा गर्न राजनीतिक दलहरुलाई अनुरोध गरेको बताउनु भयो । उहाँले राजनीतिक दलहरुमा निर्वाचनमैत्री भावनाको चेतना नबढ्दा सम्म स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न चुनौती भइरहने हुँदा इन्सेकले राजनीतिक दलहरुलाई जिम्मेवार बनाउनका लागी अभियान संचालन गर्नका लागी अनुरोध गर्नु भयो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएस्‌पी मनोज कुमार लामाले ९५ स्थायी र दुई अस्थायी गरी कुल ९७ मतदान स्थल मध्ये ५२ अति संवेदनशील, २८ संवेदनशील र १५ सामान्य प्रकृतिका मतदान स्थल रहेको बताउनु भयो । साथै, उहाँले भदौ २३ र २४ को घटनापछि लुटिएका हतियारहरु र फरार कैदीबन्दी र चुनाव विरोधी पक्षहरुका कारण सुरक्षा व्यवस्थापन चुनौती हुन सक्ने बताउदै एकीकृत निर्वाचन सुरक्षा योजना बमोजिम ती चुनौतीहरुको समाधान गरिने बताउनु भयो ।

उक्त अनुगमन टोलीमा इन्सेक केन्द्रिय कार्यालय मानव अधिकार शिक्षा विभाग प्रमुख कृष्ण प्रसाद नेपाल र इन्सेक बागमती प्रदेशका सहायक अधिकृत बरुण बस्यालको सहभागिता रहेको थियो ।

अनुमगन टोलिले मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखलाई नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ समेत वितरण गरेको छ । 

उद्धव पोखरेल

अन्य

भिडियो