जनकपुरधाम उपमहानगरपालिका–१७ तेतरियाकी २७ वर्षीया राधिका यादवले अन्ततः जन्मदर्ता प्राप्त गरेकी छन्।
२०८२ फागुन २८ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयमा पुगेर धनुषा प्रतिनिधि सन्तोषकुमार यादवसमक्ष सहयोगका लागि राधिकाले निवेदन दिएकी थिइन्।
वडाध्यक्ष रामवृक्ष यादवसँग समन्वय गरी जन्मदर्ताको लागि समन्वय गरेको प्रतिनिधि सन्तोष यादवले बताउनु भयो । सोही प्रक्रियाअनुसार २०८२ चैत ४ गते राधिकाले बैधानिक रूपमा जन्मदर्ता प्राप्त गरेकी हुन्।
राधिकाले १७ वर्षअघि धनुषाधाम नगरपालिका–८ मुराबारीका ३१ वर्षीय अनिल मण्डलसँग भागेर विवाह गरेकी थिइन्। २०७२ साउन ३१ गते पतिको दुर्घटनामा मृत्यु भएपछि उनी दुई सन्तानको जिम्मेवारीसहित एक्लै जीवनयापन गर्न बाध्य भइन्। उनका १५ वर्षीय छोरा र १० वर्षीया छोरी रहेका छन्।
भागेर विवाह गरेको कारण माइती पक्षले सम्बन्ध तोडेपछि उनी पहिचानबाट वञ्चित रहिन् । विगत करिब १० वर्षदेखि जनकपुरधाममा टेलर सञ्चालन गर्दै परिवार धान्दै आएकी राधिकाले जन्मदर्ता पाएपछि खुसी व्यक्त गदै अब नागरिकताका लागि पनि प्रतिनिधि यादवको सहयोगमा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको राधिकाले जानकारी दिइन् ।