प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा सम्बन्धित अधिकारीलाई भेटी निर्वाचन अचारसंहिता पालनामा कडाइ गर्न गोरखामा रहेका मानव अधिकारकर्मीहरूले आग्रह गरेका छन् ।
कात्तिक २४ गते भएको भेटमा अधिकारकर्मीहरूले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा शान्तिपूर्ण रूपमा मतदान गर्ने वातावरण बनाउन सरोकारवालालाई ध्यानाकर्षण गराएका थिए ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गोरखाको अगुवाइमा मुख्य निर्वाचन अधिकृत, निमित्त प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालयका डिएसपीलाई भेटी निष्पक्ष मतदानको वातावरण बनाउन आग्रह गरिएको छ ।
‘टिसर्टहरूमा दलको प्रचार सामग्री राख्न नपाइने र सार्वजनिक स्थलमा झण्डा पनि राख्न नपाइने भनिएको छ । तर, यहाँका उम्मेदवारहरूले टिसर्टमा प्रचार सामग्री राखेर पनि बाँडेका छन् । झण्डा पनि बाटोभर देखिन्छ ।’-मानव अधिकार सञ्जालका अध्यक्ष यदु अधिकारीले भने ।
पछिल्लो समय साना हातहतियार सहित मान्छे जिल्लामा प्रवेश गरेको हल्ला रहेको भन्दै त्यसतर्फपनि सचेत रहन अधिकारकर्मीहरूले सरोकारवाला पक्षलाई आग्रह गरेका हुन् ।
उम्मेदवार सहितको छलफलमा राजनीतिक दलका प्रतिनिधिले आचारसंहिता पुर्ण रूपमा पालना गर्ने प्रतिबद्धता गरेको जिल्लाका मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलले बताए । पौडेलले आचारसंहिता पालना भए/नभएको बारे निर्वाचन आयोगले निगरानी गरिरहेको समेत बताए ।
‘विकटताका कारण उत्तरी गोरखामा निर्वाचन सामग्री ढुवानीमा समस्या भएका कारण सो क्षेत्रमा समयमै मतपत्रसहित कर्मचारी पठाइने मुख्य निर्वाचन अधिकृत पौडेलले बताए ।
सुरक्षा सम्वेदनशीलतालाई ध्यानमा राखेर एकीकृत सुरक्षा योजना तयार पारिएको निमित्त प्रमुख जिल्ला अधिकारी केशवराज शर्माले बताए । ‘मतदातालाई निर्धक्कका साथ मतदान केन्द्रमा पुर्याउने वातावरण बनाउँछौँ ।’-शर्माले भने ।
निर्वाचन प्रचारप्रसारदेखि मतगणना गर्दासम्मको सुरक्षा योजना बनाएर जिल्लाको शान्ति सुरक्षा भरपर्दो बनाइएको निमित्त प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।
सुरक्षा व्यवस्थालाई व्यवस्थित बनाउन नाकाहरूको चेकिङमा कडाइ गरिएको डिएसपी भेषराज रिजालले बताए । चुनावलाई लक्षित गरेर नगरपालिका र गाउँपालिकामा मोबाइल टोली परिचालन गर्ने तयारी भइरहेको उनको भनाई छ । अति सम्वेदनशील, सम्वेदनशील र सामान्य मतदान केन्द्रमा सोही अनुसारको प्रहरी परिचालन गर्ने तयारी भइरहेको उनले बताए ।
भेटघाटमा इन्सेक जिल्ला प्रतिनिधि, मानव अधिकार सञ्जालका सदस्यहरू तथा पत्रकारहरूको सहभागिता रहेको थियो ।
हरिराम उप्रेती