अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा फागुन १५ गते अर्जुनधारा नगरपालिकास्थित शनिश्चरे बहुमुखी क्याम्पसको सभाहलमा आवासको अधिकारका सम्बन्धमा सेवाग्राी र सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
इन्सेकद्वारा गठित अर्जुनधारा नगरपालिकास्तरीय मानव अधिकार समूह र इन्सेक प्रदेश कार्यालयको आयोजनामा सेवाग्राही र सरोकारवालाबिच आवासको अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा अर्जुनधारा नगरपालिका प्रमुख हरिकुमार रानाले नेपालको संविधानले आवासको अधिकारलाई मौलिक हकको रुपमा स्थापित गरेको भए पनि स्पष्ट नीति तथा कानुन नहुँदा स्थानीय सरकारले जनताको भावना अनुरूप कार्य गर्न नसकेको बताउँनु भयो ।
उहाँले नगरपालिकाले संघ,प्रदेश र स्थानीय तह मिलेर जनताको बस्न पाउँने अधिकारलाई संरक्षण गर्ने जमर्को गरेको बताउँनु भयो ।
आर्थिक वर्ष २०७६-०७७ मा ‘तराई मधेस समृद्धि कार्यक्रम’ अन्तरगत ६० लाख रुपियाँमा २१ ओटा घर निर्माण गरेको, जनता आवास योजना र टिनको छानो फेर्ने कार्यक्रम अन्र्तगत १ सय ९३ ओटा घरको छाना फेर्ने योजना रहेको नगरपालिकाका मेयर रानाले बताउनु भयो ।
कार्यक्रमममा अर्जुनधारा नगरपालिका–११ का प्रदीप कार्कीढोलीले सुकुम्बासी आयोगले धनीपूर्जा दिएको तर धेरैको जग्गाको नाप नक्सा तयार हुन नसकेको गुनासो गर्नु भयो ।
अर्जुनधारा नगरपालिका–५ की सविना विश्वकर्माले घर बनाउँन नसक्नेका लागि ल्याएको कार्यक्रममा लक्षित वर्ग नपरेको बताउनु भयो । वडा – ७ का राज खम्बुले आवासको छनौट प्रक्रिया पारदर्शी नभएको गुनासो गर्नुभयो ।
मानव अधिकार समूह अर्जुनधारा नगरपालिका अध्यक्ष चन्द्रपसाद सुवेदीले नगरपालिका जनताको गाँस, बाँस र कपासको सुरक्षा गर्नु राज्यको दायित्व भएको बताउनु भयो, उहाँले नगरपालिकामा रहेका सुकुम्बासी र अव्यस्थित बसोबासको दिर्घकालीन समस्यालाई समाधान गर्न तत्परता देखाउनु पर्नेमा जोड दिनु भयो ।

