INSEC Online

📅 २०८३ जेष्ठ २१

आवश्यकता परेका सबैलाई जन्मदर्ता, विवाहदर्ता पाउँछ : थापा

जिल्ला प्रशासन कार्यालय दैलेखका प्रशासकीय अधिकृत भूपेन्द्र थापाले व्यक्तिगत घटना दर्ता सप्ताह अवधिमा आवश्यकता परेका सबैलाई जन्मदर्ता, विवाहदर्ता लगायतका पञ्जिकरणका प्रभावकारी काम गर्न पहल गरिने बताउनुभएको छ ।

वैशाख १ गतेदेखि ७ गतेसम्म सरकारले सञ्चालन गर्न लागेको व्यक्तिगत घटना दर्ता सप्ताहको प्रभावकारिता सम्बन्धी इन्सेकले दैलेखमा ०७९ चैत ३० गते आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा धारणा राख्दै उहाँले सो कुरा बताउनुभएको हो ।

पञ्जिकरणको अधिकार वडासचिवलाई छ, गर्न मिल्ने र सहजीकरण गर्नुपर्ने अवस्थामा पञ्जिकाधिकारीले समन्वयकारी भूमिका नखेलेको कारणले आवश्यक परेकाहरुले बालबालिकाको जन्मदर्ता, उमेर पुगेकाहरुको विवाह दर्ता नपाएका घटनाहरु सूचना पाएमा जिल्ला प्रशासन कार्यालयले आवश्यक निर्देशन दिन्छौं’ प्रशासकीय अधिकृत थापाले प्रतिवद्धता जनाउनुभयो ।

मानव अधिकार रक्षक सञ्जालका जिल्ला संयोजक विशाल सुनारले ३५ वर्षदेखि ठाँटीगाउँपालिका–३ भुआखाडामा बस्तै आएका चन्द्रबहादुर शेर्पाले त्यही गगनी बिकसंग विवाह गरेका तर दम्पतिको नागरिकता र ६ सन्तानको जन्मदर्ता नपाएको समस्या दर्शाउनुभयो ।

संयोजक सुनारले सुनाउनुभयो ‘स्थानीयहरुको सहजीकरणमा बनेको गगनीका दुई छोराछोरीको जन्मदर्ता पनि वडासचिव गोरखबहादुर शाहीले च्यातिदिएपछि अव गगनीको दम्पतिको नागरिकता र छोराछोरीको जन्मदर्ता बन्ने आशा मरिसकेको छ ।’
सोसेक नेपालको बाल हेल्पलाइनका संयोजक रमा श्रेष्ठले बालविवाहका कारण विवाह गरेका महिलाहरुले विवाह दर्ता बनाउन नपाएका र उनीहरुका सन्तानहरुको जन्मदर्तामा समेत समस्या आएको, विवाहदर्ता नहुँदा महिलाहरुले समूहमा बस्न वा सेवा सुविधा लिन समेत समस्या पर्ने गरेको बताउनुभयो ।

इन्सेक जिल्ला प्रतिनिधि अमर सुनारले अदालतबाट फैसला भइसकेका नाता कायम र बलात्कार घटना, बालविवाह र बहुविवाहबाट जन्मेका बालबालिकाहरुलाई जन्मदर्ता गराउन सकिने कानुनी व्यवस्था भए पनि स्थानीय तहहरुले जन्मदर्ता गराउन असहयोग गरेको सुनाउनुभयो ।

महिला सशक्तिकरण मञ्चका उपाध्यक्ष सबिना बिकले बालबालिकाको जन्मदर्ता र उमेर पुगेर गरेको विवाहमा पनि महिलाहरुको विवाहदर्ता नपाएका धेरै घटना भएको कारण व्यक्तिगत घटना दर्ता सप्ताहको समयमा उनीहरुको सहजता निम्ति पहल गरिनुपर्ने सुझाव दिनुभयो ।

नारायण नगरपालिका वडा नं. १ का वडासचिव गोपाल श्रेष्ठले पञ्जिकरणका काम नियमित रुपमा भइरहेका र व्यक्तिगत घटना दर्ता सप्ताहको प्रभावकारी बनाउन आफूहरु जुटेको बताउदै सेवाग्राहीहरुले आवश्यक कागज प्रमाण जुटाउन नसकेर कामहरु रोकिने गरेको समस्या दर्शाउनुभयो ।

वडासचिव श्रेष्ठले विवाह दर्ता गराउँदा दुलाहा र दुलही दुवै जना नागरिकता साथमा लिई वडा कार्यालयमा स्वयम् उपस्थित हुनुपर्छ । जन्मदर्ता, मृत्यू दर्ता वा बसाईसराई गराउन नागरिकता लिइसकेका परिवारका सदस्यहरु सूचक हुनुपर्ने भएकोले रित नपुगेकोहरुको काम रोकिने गरेको उहाँले बताउनुभयो ।

जन्म, विवाह, बसाईसराई, सम्बन्ध विच्छेद र मृत्यूदर्ता पाँच किसिमका पञ्जिकरणका काम अभियान चलाउन ०८० वैशाख १ गतेदेखि ७ गतेसम्म व्यक्तिगत घटना दर्ता सप्ताह सञ्चालन गर्दैछ । २०७८ मा पहिलो पटक र २०७९ मा दोश्रो पटक वैशाख १ देखि १६ गतेसम्म अभियान चलाइएको थियो ।

आठ वर्ष अघि संयुक्त राष्ट्रसंघको ६९ औं महासभामा नेपालले विक्रम सम्वत् २०८० सम्म व्यक्तिगत घटना दर्ता सतप्रतिशत प¥याउने प्रतिवद्धता जनाए अनुसार लक्ष्य हासिल गर्न अभियान चलाउन लागिएको हो । यो वर्ष लक्ष्य प्राप्तीका लागि अभियान प्रभाकारी बनाउन सरोकारवालाले ध्यान दिनुपर्ने राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका निर्देशक नवराज जैसीले बताउनुभयो ।

20230413_091752 120230413_093224 1

अन्य

भिडियो