इन्सेक कार्यालय धनगढीका संयोजक खड्कराज जोशीले जिल्लामा रहेका आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार अन्तर्गतका विषयवस्तुलाई प्राथमिकताका साथ उठाउन जिल्लास्थित पत्रकार एवम् अधिकारकर्मीहरूलाई आग्रह गरेका छन् ।

इन्सेकको आयोजनामा वैशाख २० गते खलङ्गामा आयोजित पत्रकार तथा अधिकारकर्मीसँगको समन्वय बैठकमा संयोजक जोशीले यस्तो आग्रह गरेका हुन् ।
जिल्लाको समग्र मानव अधिकारको अवस्थाबारे जानकारी लिन आयोजित समन्वय बैठकमा बोल्दै संयोजक जोशीले समाजमा लुकाएर राखिएका आर्थिक तथा सामाजिक क्षेत्रका अधिकारका कुरा उठाउनुपर्ने बताए ।

‘छुवाछुत, छाउपडी, बालविवाह, बालश्रम, न्याय पाउन नसकेका अवस्थालगायतका विषयमा कलम चलाउनुस् ।’-उनले भने-‘समाजमा रहेका विकृति अन्त्यको लागि आफैँबाट सुरूवात गर्नुपर्छ । यहाँ रहेका व्याप्त सामाजिक कुरीतिको लागि कलम चलाउन सके समाज परिवर्तनमा सहयोग पुग्छ ।’
जिल्ला बार एशोसियशनका सचिव एवम् अधिवक्ता धिरेन्द्रसिंह साउदले जिल्लामा बालअधिकारको अवस्था कमजोर रहेको बताए । बालअधिकारकै क्षेत्रमा केन्द्रित भएर काम गर्ने निकाय नहुँदा बालबालिकाहरू बढी पीडित भएको उनले उल्लेख गरे ।

महिला मानव अधिकारकर्मी हिरा अवस्थीले महिलाहरू पुरूष्ले सेवन गर्ने मदिराका कारण बढी हिंसा पीडित भइरहेको बताइन् । समाजमा जताततै भइरहेको खुला मदिराका कारण घरेलु हिंसा, महिला हिंसा, बढेको उल्लेख गर्दै हिंसा पीडित महिलाको सुरक्षाका लागि सुरक्षित बास बस्ने भवनसमेत नभएको बताइन् । ‘सेफ हाउस नहुँदा पीडित महिलालाई न्याय दिन समस्या भइरहेको छ ।’-उनले भनिन् ।
पत्रकार पदम बडालले स्थानीय सरकार आएपछि जनप्रतिनिधिमा दम्भ बढेको भन्दै कानुनी ज्ञानको अभावमा समस्या भइरहेको बताए । उनले अझै पनि स्थानीय सरकारका प्रतिनिधिले आफू जनप्रतिनिधि हुँ भन्ने नबुझ्दा नागरिकले सहज सेवा नपाएको उल्लेख गरे ।
गैरसरकारी संस्था महासङ्घका अध्यक्ष नारायण जोशीले पछिल्लो समय निर्वाचित जनप्रतिनिधिलाई न्यायिक ज्ञानबारे अभिमूखीकरण गर्नुपर्ने आवश्यक रहेको बताए ।
बुद्धिजीवि धाना धामीले महिलाहरू अझै सजिलै तरिकाले मुद्दा गर्न सक्ने अवस्था नरहेको बताइन् । कार्यक्रमका सहभागिहरूले जिल्लामा मुद्दा प्रक्रिया सजिलै दर्ता हुन नसक्ने, जाहेरी दर्ता प्रक्रियामा समस्या भइहरको, बालश्रम, बालविवाहलगायतका समस्या भइरहेको बताएका थिए ।
कार्यक्रममा इन्सेक केन्द्रीय कार्यालयस्थित मानव अधिकार प्रलेख तथा प्रसार विभाग प्रमुख मदन पौडेलले कार्यक्रमको उद्धेश्यमाथि प्रकाश पारेका थिए ।
नरेन्द्रसिह कार्की