नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० को प्रकाशन पूर्व जिल्लामा गरिएको वार्षिक समीक्षा कार्यक्रममा अधिकारकर्मीहरूले आर्थिक,सामाजिक तथा सांस्कृतिक अधिकारका विषयमा केन्द्रित हुन इन्सेकलाई सुझाव दिएका छन् ।
इन्सेक मोरङले आयोजना गरेको कार्यक्रममा बोल्दै जिल्ला समन्वय प्रमुख नरेश पोखरेलले नेपालको मानव अधिकार अभियानमा इन्सेकको योगदान महत्वपूर्ण रहेको बताउँदै इन्सेकले अब आर्थिक,सामाजिक तथा सांस्कृतिक अधिकारका विषयमा केन्द्रित हुन आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग प्रदेश १,कार्यालय प्रमुख मोहनदेव जोशीले फरक राजनीतिक आस्था राखेकै आरोपमा सरकारले ०७५ फागुन २८ गतेदेखि नेत्र विक्रम चन्द (विप्लव ) नेतृत्वको कार्यकर्ता आरोपमा आरोपमा अदालत परिसरबाटै पुन गिरफ्तार गर्ने विषयमा आयोगको गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो । उहाँले कुनै पनि राजनीतिक दललाई प्रतिवन्ध गर्न सरकारले नपाउने र आस्था राखेकै कारण अदालतको आदेशमा रिहा हुने वित्तिकै गिरफ्तार गर्नुले मानव अधिकारको विषयमा राज्य सम्वेदनशील हुन नसकेको बताउनुभयो ।
समीक्षा कार्यक्रममा बोल्दै डिएसपी वेदप्रसाद ढकालले संविधानले व्यवस्था गरेका मौलिक हकको कार्यान्वयन गर्न सके मानव अधिकारको पूर्ण प्रत्याभूत हुने बताउनुभयो । उहाँले संविधान कार्यान्वयनका लागि तीन तहकै सरकार चलायामान हुन आवश्यक रहेको बताउनुभयो । प्रहरी एक्लैले मानव अधिकारलाई सम्बोधन गर्न नसक्ने भएकाले अधिकारकर्मीले साथ दिन जरूर रहेको बताउनुभयो ।
आफ्नो धारण राख्ने क्रममा महिला मानव अधिकार राष्ट्रिय सञ्जालकी केन्द्रीय सदस्य मञ्जीता उपाध्यायले इन्सेकले घटनाहरू अभिलेखीकरण गरी वर्ष पुस्तकका रूपमा हरेक वर्ष मानव अधिकारको दस्तावेज प्रकाशन गर्दै आएको बताउनुभयो । उहाँले कतिपय अवस्थामा अधिकारका क्षेत्रमा कार्यरत नागरिक सङ्गठनले आफूले अभिलेखीकरण गरेको तथ्याङ्क रूजु गर्नुपर्ने र सोको आदान–प्रदान गर्न आवश्यक रहेको बताउनुभयो ।
समीक्षा कार्यक्रममा मोरङमा सन् २०१९ को जनवरी १ देखि डिसेम्वर सम्मको अवधिमा १२ जनाको हत्या भएको तथ्याङ्क प्रस्तुत गरिएको छ । जसमा गैरराज्य पक्षबाट ७ जना महिला, २ जना पुरुष र १ जना बालिकासहित २ नवजात शिशुको हत्या भएको छ । गत वर्षको यही अवधिमा ११ जनाको हत्या भएको थियो । तथ्याङ्कले मोरङमा १ सय ५६ जना पीडित भएको देखाएको छ । सन् २०१९ भरिमा बलात्कारका ४५, बलात्कार प्रयासका ४० ओटा घटना तथ्याङ्क सार्वजनिक गरिएको छ ।
