INSEC Online

📅 २०८३ जेष्ठ २१

१०३ वर्षीय वृद्ध चेपाङ् भन्छन् ‘सरकार गरिब छ, सबैलाई हेर्नु पर्छ ।’

भूकम्पले घर भत्केपछि ओडारमा बस्दै आएका १सय ३ वर्षीय जयपति चेपाङलाई  घर निर्माण गरेर ०७२ जेठ ७ गते नवनिर्मित घरमा नै फर्काइएको छ ।

 

प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलिया र प्रहरी उपरीक्षक प्रकाशजङ्ग कार्कीले नवनिर्मित घरमा वृद्ध चेपाङलाई ओडारबाट घरमा प्रवेश गराएका थिए । पूर्ण क्षतिग्रस्त भएको घर पुनर्निर्माण गरेर घरमा नै बसोवास गराएको मकवानपुरको यो पहिलो हो ।

 

Photo20150522Makawanpur

 

भार्ता गाविस-४ सिलौतीको डाँडामा १५ महिनाअघि निर्माण गरिएको घर वैशाख १२ गते आएको भूकम्पले पूर्णरूपमा क्षतिग्रस्त भएपछि जयपति ओडारमा बस्दै आएका जयपतिका लागि स्थानीय चेपाङ युवा र हेटौँडाका सहयोगीहरूको प्रयासमा घरको निर्माण गरिएको हो ।

 

जस्तापाताको छाना भएको दुई तले घर निर्माण गरेर उनलाई ओडारबाट घरमा ल्याएर राखेकेा हो । ओडारबाट नवनिर्मित घरमा प्रवेश गराउँदा पुर्वसभासद गोविन्दराम चेपाङ, चेपाङ संघ मकवानपुरका अध्यक्ष खेम चेपाङ, गाविस सचिव राजु अर्याललगायत स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको थियो । ओडारमा बसेका चेपाङलाई नवनिर्मित घरमा सार्न पुगेका प्रमुख जिल्ला अधिकारी थपलिया र प्रहरी उपरीक्षक कार्कीलाई हात जोडेर जयपतिले स्वागत गर्दै गिठ्ठाको माला लगाई दिएका थिए । जङ्गलबाट जयपतिले खोजेर ल्याएको गिठ्ठाको माला उनका नाति दीपकले उनेका थिए । उनले मालामात्र लगाई दिएनन्,उसिनेको गिठ्ठा पनि खान दिएका थिए । प्रमुख जिल्ला अधिकारी थपलिया र प्रहरी उपरीक्षक कार्कीले ओडारमा बसेका चेपाङलाई खादा र फूलमाला लगाइ दिएका थिए ।

 

घरमा छिर्ने वितिक्कै जयपतिको आँखाबाट आँशु झरेको थियो । सुस्त स्वरमा उनले भने-‘अब, यो घर त भत्कदैन होला’ । प्रमुख जिल्ला अधिकारी थपलियातर्फहेर्दै उनले यो पनि भने “सरकार गरिब छ, सबैलाई हेन पर्छ ।’ त्यति नै बेला प्रमुख जिल्ला अधिकारी थपलिया र प्रहरी उपरीक्षक कार्कीको हात समातेर ‘डाँडामा बस्छु, पानी खोलामा छ, यहाँ पानीको मुस्किल छ’-भनेर गुनासो पोखे ।

 

प्रमुख जिल्ला अधिकारी थपलियाले वृद्ध चेपाङलाई नवनिर्मित घरमा प्रवेश गराउँदै भूकम्पले ल्याएको विपत्तिको सामना गर्न सरकारलेमात्र सक्तैन सबैको सहयोग  आवश्यक रहेको बताए ।

 

जनता आवास कार्यक्रम अर्न्तर्गत बनाइएको दुई तले घरको चारैतर्फो ढुङ्गामाटोका गाह्रो भूकम्पले भत्काएको र जस्तापाताको छानालाई भने क्षति पुर्‍याएको थिएन । ५० हजार रुपियाँको  लागतमा उक्त घर निर्माण गरिएको थियो । जयपति चेपाङ उक्त ओडारमा जन्मेर र वृद्ध भएका हुन् । जनता आवास कार्यक्रम अर्न्तर्गत घर बनाएर उनलाई २०७० माघ १४ ओडारबाट घरमा बसाइएको थियो । ओडारबाट घरको दूरी आधा किलोमिटर छ । उनी पनि १५ महिना खुसीसाथ घरमा बसेका थिए ।
भूकम्प आएर घर भत्केपछि पुनः उनी ओडारमा नै फर्केका थिए । २१ औँ शताब्दिमा पनि मानिस ओडारमा बस्नु समाजकै निम्ति लाज मर्नु भएकाले घर बनाउन पहल गरिएको स्थानीय युवा महेश चेपाङले बताए । उनले भने,-‘१०३ वर्षका वृद्ध ओडारमा बस्नु हाम्रा निम्ति कलङ्क हो ।’

 

Photo20150522Makawanpur1

 

अधिकाँश समय उनी जङ्गली कन्दमूल खाएर पेट भर्दै आएका छन् । ओडारमा उनी एक्लै बस्छन् । ९० सालको भुकम्प जादा पनि उनी त्यही ओडारमा थिए । त्यति बेला गिठ्ठा तासिरहेका थिए भने ८२ वर्षछि भूकम्प आउँदा पनि उनी घर बाहिर गिठ्ठा केलाइरहेका थिए । उनी १५ महिना अघिमात्र ओडारबाट घरमा सरेका थिए । ८२ वर्षबितिसक्दा पनि उनको दिनचर्यामा केही पनि फरक आएको छैन । उनलाई ओडार र गिठ्ठाले छोडेको छैन । समाजमा भएका अनेक खालका विकासले उनलाई अहिलेसम्म छुन सकेको छैन । जयपति अहिले पनि जङगली युगमानै बाचिरहेका छन् ।

अन्य

भिडियो