शुकलाल विक, उमेरले १७ वर्ष । साविक मार्तडी गाविस–२ स्थित मालिका माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत । २०५८ असोज ११ गते शुक्रबारको दिन । अन्य दिनझैँ त्यो दिन पनि पढाइ सकिएपछि उनी घर फर्किंदै थिए ।
विद्यालयबाट घर फर्कने क्रममा घर नजिकै माओवादी कार्यकर्ताले उनलाई रोके । शुकलाललाई पार्टीमा प्रवेश गर्न उनीहरुले लिएर गए । साँझ पर्न थाल्यो, घर परिवारले छोरा किन घर नआएको होला भनेर खोजी गर्न थाले । तर, द्वन्द्वको त्यो त्रासदीपूर्ण समयमा कसैले खुलेर सोधपुछ गर्ने साहस गर्दैनथ्यो । केही समयपछि परिवारले थाहा पायो, माओवादीले शुकलाललाई मार्तडी गाविस–१ रजातोलीस्थित एक गोठमा लगेर राखेको छ । तर, परिवारले उनलाई भेट्न पाएन् । उनी कुन अवस्थामा छन् भन्ने पनि थाहा पाएन । त्यसपछि मार्तडीबाट गएको सुरक्षाकर्मीको टोलीले शुकलाललाई नियन्त्रणमा लिएको र गोपी सेरा क्षेत्रमा गोली हानी हत्या गरेको परिवारको भनाइ छ । आफन्तहरूले शव अनाइ खोलामा लगेर सद्गत गरे ।
त्यो दिनसँगै विक परिवारको जीवनमा दुःखको अध्याय सुरु भयो, जुन आजसम्म समाप्त भएको छैन् । “भाइ त स्कुल पढ्ने विद्यार्थी मात्र थियो,” दाइ बिरबहादुर विक भन्छन्, “उसले कसैलाई दुःख दिएको थिएन् । पढाइमा अब्बल थियो ।” भाइको मृत्युले परिवारलाई भित्रैदेखि भत्कायो । विशेषगरी आमा खिरी ल्वार विकलाई । छोराको मृत्युको पीडा उनले कहिल्यै बिर्सन सकिनन् । दिनरात शुकलाललाई सम्झेर रुने, बाटो तिर हेरेर बस्ने, कतै छोरा फर्किएला कि भन्ने आशा गर्ने उनको बानी बनेको थियो ।
“आमाले शुकलाल मरेको कुरा मनले स्वीकार्नै सक्नुभएन,” बिरबहादुर सम्झिन्छन्, “उहाँको मन दिनदिनै कमजोर हुँदै गयो ।” परिवारको आर्थिक अवस्था कमजोर थियो । मानसिक स्वास्थ्य उपचार गराउने क्षमता थिएन् । गरिबी, पीडा र असहायता बीच संघर्ष गरिरहेकी खिरी ल्वार विकको २०६७ जेठ महिनामा मृत्यु भयो । परिवारका सदस्यहरू आज पनि भन्छन्, “आमालाई कुनै रोगले मारेको होइन, छोराको वियोगले मारेको हो ।”
द्वन्द्व समाप्त भयो । सरकारले द्वन्द्वपीडित परिवारलाई राहतस्वरूप ५ लाख रुपियाँ उपलब्ध गरायो । तर, परिवारका लागि त्यो रकम केवल एउटा प्रशासनिक सहायता मात्र बन्यो । न त त्यसले शुकलाललाई फर्कायो, न त आमाको आँसु रोकियो ।
न्यायको आशामा परिवारले नेपाल सरकारसमक्ष उजुरी दियो । कहिलेकाहीँ दिपायलमा बयान वा मुद्दासम्बन्धी छलफलका लागि बोलाइन्छ । तर, हरेक पटक त्यहाँ पुग्दा परिवारले न्याय भन्दा बढी पीडा महसुस गर्ने गरेको छ । “हामीलाई बारम्बार बोलाइन्छ,” बिरबहादुर भन्छन्, “भाइ कसरी लगियो, कसरी मारियो, आमाले कसरी तड्पिएर ज्यान गुमाउनु भयो भन्ने फेरि सुनाउनु पर्छ । पुराना घाउ फेरि बल्झिन्छन् । तर, न्याय भने अझै देखिएको छैन ।”
उनका अनुसार राज्यले पीडितलाई न्याय दिलाउनु भन्दा कागजी प्रक्रिया पूरा गरिरहेको जस्तो अनुभूति हुन्छ । “यदि न्याय दिन सकिँदैन भने किन बारम्बार पीडितलाई घटना सम्झाइन्छ ? हामीलाई राहत होइन, सत्य चाहिएको छ । दोषी को हुन्, किन मारियो, कसले आदेश दियो भन्ने उत्तर चाहिएको छ,” उनी भन्छन् । घटना भएको झण्डै २५ वर्ष पुग्न लाग्यो । तर, विक परिवारका लागि त्यो घटना भएको दिन अझै सकिएको छैन् । विद्यालयबाट घर फर्कँदै गरेका शुकलालको प्रतीक्षा त्यो दिन परिवारले गरेको थियो, जुन प्रतीक्षा आज न्यायको रूपमा अझै जारी छ ।
शुकलालकी आमा न्याय नपाई संसारबाट बिदा भइन् । तर, परिवार अझै राज्य तर्फ हेरेर बसेको छ । उनीहरूको आशा केवल आर्थिक सहायता होइन, सत्यको उद्घाटन, दोषीको पहिचान र न्यायको अनुभूति हो । बिरबहादुर विकको आवाजमा आज पनि उही पीडा सुनिन्छ “मेरो भाइ त विद्यालय पढ्ने एउटा विद्यार्थी मात्रै थियो । उसको अपराध के थियो ? यदि राज्यसँग यसको उत्तर छ भने हामीलाई सुनाओस् । यदि न्याय दिने हो भने अझै ढिलो नगरियोस् ।”