रातको ९ बजे, गाउँका अधिकांश घरमा खाना पाकिसकेको थियो । दिनभरको काम सकेर मानिसहरू खाना खाने र सुत्ने तयारीमा थिए । त्यो रात ०५९ चैत ३ गते उदयसिंह धामी पनि आफ्नो परिवारसँगै खाना खाने तयारीमा थिए । दिनभर मजदुरी गरेर फर्किएका उनी निकै थकित थिए । पत्नी दुरा धामीले खाना पकाएकी थिइन् । ६ महिनाकी कान्छी छोरी रक्षालाई काखमा राखेर दूध खुवाउँदै थिइन् । जेठी छोरी रजन्ती, अर्की छोरी देवकी र पाँच वर्षका छोरा शेरसिंह पनि सँगै थिए । उदय दुराले पकाएको खाना पस्किदै थिए । अचानक घरको ढोका खुल्यो । दुई जना हतियारधारी माओवादी घरभित्र प्रवेश गरे । उनीहरूको लक्ष्य सुरुमा उदयसिंहका बुबा मनसिंह धामीलाई मार्ने रहेको परिवारले थाहा पायो । तर, वृद्ध मनसिंहलाई देखेपछि उनीहरू फर्किए र उदयसिंहलाई बाहिर बोलाए । एकछिन काम छ, हिँड्नुहोस् भने । उदयसिंहले खाना पनि खान पाएनन् । उनले परिवारतिर एक नजर हेरे, अनि घरबाट बाहिरिए । त्यो उनको परिवारले देखेको अन्तिम दृश्य थियो ।
घर परिवारले केही बेरमै फर्किनुहुन्छ भन्ने ठानेका थिए । त्यतिबेला गाउँमा फोन थिएन् । सम्पर्क गर्ने कुनै माध्यम थिएन् । बाहिर निस्केर खोज्ने अवस्था पनि थिएन । गाउँभरि त्रासको वातावरण थियो । जेठी छोरी रजन्तीले बुवालाई लग्दै गर्दा रोएर कराएकी थिइन् । उनले बुवालाई नलैजान आग्रह गरेकी थिइन् । तर, त्यो आग्रह उनीहरुले सुनेनन् । रजन्ती घरकी जेठी छोरी थिइन् ।
रात लम्बिँदै गयो । घरभित्र निद्रा थिएन । पत्नी, सन्तान र वृद्ध बाबु सबै चिन्तामा थिए । तर, उनीहरू केही गर्न सक्ने अवस्थामा थिएनन् ।
भोलिपल्ट बिहान गाउँभर हल्ला फैलियो । ब्रह्ममन्दिर नजिकै कञ्चटमा गोली हानिएको अवस्थामा उदयसिंह धामीको शव फेला प¥यो ।
उदयसिंह कुनै राजनीतिक नेता थिएनन् । कुनै सशस्त्र समूहका सदस्य पनि थिएनन् । उनी गाउँघरमा मजदुरी गरेर परिवार पाल्ने सामान्य मानिस थिए । ज्यालादारी गरेर जीविका चलाउने श्रमिक थिए । दुरा धामी आज पनि त्यही प्रश्न दोहो¥याउँछिन् । दिनभर गाईबाख्रा चराएर, मजदुरी गरेर परिवार पाल्ने मान्छेको गल्ती के थियो हत्या गरियो ? त्यो प्रश्नको उत्तर परिवारले अहिलेसम्म पाएका छैनन् ।
उदयसिंहका दुई भाइ सुरक्षा निकायमा कार्यरत थिए । नरसिंह धामी नेपाली सेनामा र जमनसिंह धामी नेपाल प्रहरीमा कार्यरत थिए । अर्का भाइ वीरसिंह सिँचाइ कार्यालयमा जागिरे थिए । परिवारलाई लाग्छ, सम्भवतः यही कारणले उदयसिंहलाई निशाना बनाएर हत्या गरियो । तर, द्वन्द्वकालमा सत्य खोज्ने वातावरण थिएन । न्याय माग्ने साहस पनि थिएन् । ‘त्यो बेला बोल्नै सकिँदैनथ्यो,’ दुरा भन्छिन्, ‘डर मात्रै थियो ।’
दुराको काँधमा चार सन्तानको जिम्मेवारी थियो । जेठी छोरी रजन्ती कक्षा ७ मा अध्ययनरत थिइन् । अर्की छोरी देवकी सानै थिइन् । छोरा शेरसिंह पाँच वर्षका थिए । कान्छी छोरी रक्षा ६ महिनाकी थिइन् । आम्दानीको स्रोत केही थिएन । उनी गाउँमा ज्याला मजदुरी गर्थिन् । घरमा अरु भाइ परिवारले सहयोग गर्ने अवस्था पनि थिएन् ।
सशस्त्र द्वन्द्व समाप्तिपछि सरकारले द्वन्द्वपीडित परिवारहरूलाई राहत उपलब्ध गराउन सुरु ग¥यो । उदयसिंह धामीको परिवारले पनि राहत प्राप्त ग¥यो । सरकाले पटकपटक गरेर १० लाख रुपियाँ राहत दियो । यो रकमले परिवारलाई केही राहत अवश्य दियो । विशेष गरी बालबालिकाको शिक्षामा निरन्तरता दिन सहयोग पुग्यो ।
ससुरा मनसिंह धामीले बच्चाहरूलाई पढाउनुपर्छ भन्दै खलंगामा घर किनिदिन सहयोग गरे । द्वन्द्वपीडित राहत रकमको एउटा किस्ता आउने वित्तिकै खलंगामा घर किनिदिएपछि छोराछोरी खलंगामा पढाएँ । छोरो हुर्किदै गयो । इन्जिनियर पढ्न काठमाडौँ गयो । छोराछोरीलाई उच्च शिक्षा दिन ठूलो आर्थिक संघर्ष गर्नुपरेको उनी सुनाउछिन् । विशेष गरी छोराको इन्जिनियरिङ अध्ययनका लागि परिवारले ऋण लिनुप¥यो । घरमा भएका गाईवस्तु, बाख्रा बेच्नुप¥यो । ‘मसँग भएको सबै बेच्यौँ,’ दुरा भन्छिन्, ‘तर बच्चाको पढाइ रोकिन दिएनौँ ।’ छोरा इन्जिनियरिङ अध्ययन पूरा गर्ने चरणमा पुगेको छ । कान्छी छोरी रक्षा नेपाली सेनामा कार्यरत छिन् । दुई छोरीहरूको विवाह भइसकेको छ । जीवनले केही सफलता दिएको छ । तर, ती सफलताहरूको पछाडि अनगिन्ती आँसु, दुःख र त्याग लुकेको छ ।
दुरा धामीको गुनासो आज पनि राज्यप्रति छ । उनका अनुसार राहत रकमले तत्कालीन आवश्यकता पूरा गर्न मद्दत गरे पनि दीर्घकालीन पुनस्र्थापनाका लागि पर्याप्त थिएन् । ‘परिवारको एक जनालाई रोजगारी दिएको भए न्याय महसुस हुन्थ्यो,’ उनी भन्छिन् ।
अहिले त मेरो उमेर पनि ४७ वर्ष भइसक्यो । शरीर थाकेको छ, तर जिम्मेवारी अझै सकिएको छैन् । छोराको सपना पूरा भएपछि मेरो सपना पनि पूरा हुने थियो उनी भन्छिन् ।
दुरा भन्छिन्– हामीले केही रात त पायौँ, तर न्याय र सम्मान पाउन अझै बाँकी छ । हामीलाई न्याय र सम्मान चाहिएको छ । सरकार र समाजले हामीलाई साथ दिनुपर्छ ।