INSEC Online

📅 २०८३ असार १२

द्वन्द्वपीडित परिवार अझै न्याय र राहतको आशामा

धनगढी उपमहानगरपालिका—१४ स्याउले (साविकको फुलवारी गाविस—७ स्याउले) घर भएकी ८० वर्षीेया द्वन्द्व पीडित हरीना सार्कीले विगत २४ वर्षदेखि छोरा तुलाराम सार्कीको न्यायको पर्खाईमा बसिरहनु भएको छ । सशस्त्र द्वन्द्वको समयमा ०५९ वैशाख १५ गते दिउँसो १२ बजे नेपाली सेनाको टोलीले तुुलारामलाई जबरजस्ती घरबाट लगेर हत्या गरेको थियो ।

२३ वर्षीय तुलाराम सार्की सामान्य परिवारमा ०३६ वैशाख १५ गते जन्मेका थिए । घरको जेठो छोराको रुपमा रहेका तुलारामका एक जना भाई रहेका छन् । घरको गुजारा चलाउन तुलाराम भारतमा मजदुरी गर्न गएका थिए । तुलाराम भारतमा मजदुरी गरेर फर्केको चार/पाँच दिन भएको थियो । गाउँका अन्य साथीहरुसँगै तुलाराम नजिकैको जंगलमा गोठालो गएका थिए । ०५९ वैशाख १५ गते दिउँसो १२ बजे धनगढीबाट गएको संयुक्त सुरक्षाफौज देखेर डरले जंगलबाट भागेर घर गएका थिए । सुरक्षाफौजले तुलारामलाई भागेको देखेर उनको पछिलाग्दै गए र तुलारामलाई घरभित्रबाट मरणासन्न हुने गरी कुटपिट गर्दै आँखामा पट्टी बाधेर घरबाट जबरजजस्ती लगेका थिए । तुलारामका आमा, बुबा र पत्नीले नलैजानका लागि हारगुहार गरे पनि सुरक्षाफौजले उनीहरुको हारगुहारलाई बेवास्ता गरी लगेका थिए । सेनाले लगेपछि तुलारामको न लास छ न सास नै पीडित परिवारले पाउन सके । तुलारामलाई सुरक्षाफौजले लगेको तीन दिनसम्म लाश भेटिने आशाले सबै गाउँले मिलेर जंगलमा खोजि गर्दा पनि लास भेटिएन, तुलारामलाई सुरक्षाफौजले कहाँ लगे, के गरे कुनै पक्षबाट जानकारी भएको छैन् । तुलारामको हत्या गरिएको २४ वर्षसम्म राज्यको कुनै निकायले सहयोग नगरेको आमा हरिना र भाइबुहारी रोशनीले बताउनु भयो ।

धनगढी उपमहानचगरपालिका—१४ सिगाँउ (साविकको फुलवारी गाविस—८ सिगाँउ) का ६३ वर्षीय बिरामी बुबा चित्र भुजेल र ६० वर्षीया आमा दुर्गा भुजेल २३ वर्षदेखि छोरीको न्यायका पर्खाइमा छन् ।
१८ वर्षीया दुर्गा भुजेल सामान्य परिवारमा ०४२ वैशाख १३ गते जन्मेकी थिइन् । ०६० फागुन १३ गते साविकको फुलवारी गाविस—१ खेदा बहुलिया प्रहरी चौकी नजिक (हाल धनगढी उपमहानगरपालिका—१९) दिउँसो १ बजेको समयमा मिनालाई माओवादीको आरोपमा धनगढीदेखि ठुलो सङ्ख्यामा आएको सुरक्षाफौजको टोलीले लखेट्दै गहुँबारीमा गोली हानी हत्या गरेका थिए । तर, राज्यले हालसम्म छोरीको हत्यालाई सार्वजनिक गर्न नसकेको पीडित भुजेलका आमाबुबाले गुनासो गर्नु भयो ।

छोरीको हत्यापछि सरकारले क्षतिपूर्तीको नाममा तीन किस्तामा १० लाख रुपियाँ उपलब्ध गराएको भए पनि स्थानीय सरकारबाट कुनै सेवासुविधा नपाएको र निर्वाचनका समयमा अन्य राजनीतिक दलहरुले माओवादी भनेर भोट समेत माग्न नआएको गुनासो गर्नु भयो । पति प्यारालाइसिसबाट ग्रसित हुँदा उपचारका लागि सिफारिस लिन जाँदा वडा कार्यालयले सिफारिस नगरिदिएपछि उपचारबाट बञ्चित हुनुपरेको र घटना भएको २३ वर्ष बितिसक्दा समेत हत्यामा संलग्नलाई कानुनी कारबाही नहुँदा छोरीले न्याय पाउन नसकेको पीडितकी आमा दुर्गा भुजेलले दुखेसो पोख्नु भयो ।

यसैगरी, कैलाली जिल्ला साविकको निगाली गाउँपालिका—६ निगाली निवासी घरभई हाल धनगढी उपमहानगरपालिका—५ जाईमा बस्दै आइरहनु भएकी पदमा बम पतिलाई बेपत्ता बनाएदेखि एकल जिवन बिताउन बाध्य छन् । घरमा कमाउने व्यक्तिलाई तत्कालिन नेकपा माओवादीका कार्यकर्ताहरुले घरबाट अपहरण गरी बेपत्ता बनाएदेखि उहाँको परिवारमा आर्थिक संकट उत्पन्न भई साँझबिहानको छाक टार्न समेत धौँधौँ परेको छ । दैनिक ज्यालादारीमा काम गर्दै आएको भए पनि निरन्तर रुपमा काम नपाउदा परिवार पाल्न, छोराछोरी हुर्काउन, उनीहरुको पढाइ तथा उपचार खर्च र लत्ता कपडाको जोह गर्न धेरै समस्या भएको द्वन्द्वपीडित पदमा बमले दुखेसो पोख्नु भयो ।

०६० जेठ ५ गते तत्कालिन माओवादी कार्यकर्ताले चामल ओसार्न जानु छ भनेर पतिलाई घरबाट लगेकोे २३ वर्ष बितिसक्दा पनि उहाँको अवस्थाका बारेमा कुनै सूचना पाउन नसकेको पीडित पदमाको भनाइ छ । बेपत्ता पारिएका गणेशबहादुर बम गाउँमा शिक्षित बुद्धिजिवीको रुपमा चिनिने पेसाले नीजि विद्यालयका शिक्षक तथा नेकपा एमालेका गाउँ कमिटी सचिव हुनुहुन्थ्यो ।

घटना हुँदाको समयमा सात वर्षकी छोरी र पाँच वर्षको छोरा अहिले स्नातकोत्तर र स्नातक पढिरहेका छन् । पति बेपत्ता भएको तीन चार वर्षपछि आफन्तको सहयोगमा धनगढीमा बसाई सरेर आएकी पदमा ज्यालादारीमा काम गर्दै छोराछोरीको लालनपालन, शिक्षा, स्वास्थ्य र घर खर्च चलाउदै आउनुभएको छ । राज्यले हालसम्म कुनै पनि प्रकारको सहयोग, राहत तथा परिपूरणको व्यवस्था नगरेका कारण पनि आफूहरुले दिनप्रतिदिन आर्थिक संकटसँग जुध्नुपरेको पीडितले बताउनु भयो ।

कैलाली जिल्ला साविकको उदासीपुर गाउँपालिका–७ हाल कैलारी गाउँपालिका–८ दुधियाकी ४८ वर्षीया द्वन्द्वपीडित कृष्णी चौधरी पारिवारिक, आर्थिक तथा सामाजिक रुपमा विक्षिप्त अवस्थामा एकल जिवन जिउन बाध्य हुनुभएको छ । ०५८ फागनु २७ गते पति ३० वर्षीय विनोदकुमार चौधरीलाई नेपाली सेनाको टोलीले रामशिखरझालाबाट गिरफ्तार गरी बेपत्ता बनाएदेखि नै पीडित कृष्णा चौधरीले पारिवारिक, आर्थिक तथा सामाजिक समस्या भोग्दै आउनु भएको छ । सेनाले गिरफ्तार गरी कैलाली जिल्लाको तेघरी व्यारेकमा राखेको थियो । पतिलाई गिरफ्तार गरी बेपत्ता पारिएको झण्डै २५ वर्ष बितिसक्दा पनि उहाँको अवस्थाका बारेमा आफूले कुनै जानकारी पाउन नसकेको पीडितको गुनासो छ ।

उहाँले भन्नुभयो– ‘पति बेपत्ता भएदेखि पारिवारिक तथा आर्थिक समस्याका साथै सामाजिक भेदभाव पनि सहन बाध्य भए । ससुराको मृत्यु भइसकेको छ । उहाँको नाममा भएको जग्गाको अंशवण्डा नहुँदा थप आर्थिक समस्या खेप्नु परिरहेको छ । माइला देवरले ससुराको नाममा रहेको लालपुर्जा बैङ्कमा राखेर ऋण निकाल्नु भएको छ । बैङ्कको व्याज तिर्न नसक्दा बैङ्कले कुन दिन जग्गा लिलाम गर्छ थाहा छैन ।’

विनोदकुमार चौधरीलाई सेनाले गिरफ्तार गरी तेघरी व्यारेकमा राखिएको समयमा माओवादी भएको आरोपमा कैलारी गाउँपालिका–६ का अनिल चौधरी र बर्दगोरिया गाउँपालिका–७ की आशा चौधरीलाई पनि सेनाले सोही व्यारेकमा राखेको थियो । ०५९ जेठ १६ गतेसम्म पीडितलाई तेघरी व्यारेकमै राखिएको भए पनि त्यसपछिका दिनदेखि उहाँको अवस्था अज्ञात भएको तेघरी व्यारेकबाट छुटेका आशा चौधरी र अनिल चौधरीले आफूलाई बताएको पीडित कृष्णी चौधरीको भनाइ छ । हालसम्म पनि बेपत्ता पारिएका कृष्णी चौधरीका पति विनोद चौधरीको अवस्था सार्वजनिक हुन सकेको छैन् ।

गौरीगंगा नगरपालिका–५ अण्डौयाकी ७१ वर्षीय पदमा दमाईकी १३ वर्षीया छोरी कुमारी दमाईलाई सुरक्षामर्कीहरुले घरबाटै गिरफ्तार गरी बेपत्ता बनाएको झण्डै २४ वर्ष बितिसकेको छ । अहिलेसम्म कुमारी दमाईको अवस्था अज्ञात छ । छोरीलाई गिरफ्तार गरी बेपत्ता पारेदेखि चिन्ताका कारण पतिको पनि मृत्यु भयो । पतिको मृत्यु भएदेखि घरव्यवहार चलाउन समस्या भएको पीडित पदमा दमाईले दुःखेसो पोख्नु भयो ।

आर्थिक अभावका कारण हाल पदमा दमाई एक कठ्ठा ऐलानी जमिनमा चुहिने सानो टहरामा एकल जिवन बिताउदै आउनु भएको छ । उहाँको घरमा काम गर्ने व्यक्ति नहुँदा उहाँलाई साँझबिहानको छाक टार्न समेत समस्या छ । पदमा दमाईकी छोरी कुमारी दमाई माओवादी कार्यकर्ता भएको आरोपमा सुख्खड वेसक्याम्पबाट आएको संयुक्त सुरक्षाफौजको टोलीले ०५९ असोज ९ गते घरबाट गिरफ्तार गरी बेपत्ता बनाएको थियो ।
हरीना सार्की, चित्रबहादुर भुजेल, पदमा बम, कृष्णी चौधरी र पदमा दमाई एक प्रतिनिधि पात्र मात्रै हुन् । कैलाली जिल्लामा द्वन्द्वको बेलामा १३ जनालाई बेपत्ता पारिएको तथ्याङ्क इन्सेकमा अभिलेखित छ । इन्सेकले तयार पारेको द्वन्द्व पीडित पाश्र्वचित्रमा कैलाली जिल्लामा मात्रै १९ जनाको अङ्गभङ्ग भई शारीरिक रुपमा अपाङ्गता भएका र ४ सय २० जनाको हत्या गरिएको उल्लेख छ ।

विस्तृत शान्ति सम्झौता भएको २० वर्ष बितिसक्दा समेत तत्कालिन नेकपा माओवादी र सुरुक्षाकर्मीहरुले बेपत्ता बनाइएका व्यक्तिहरुको स्थिति सार्वजनिक गर्ने, पीडित परिवारलाई राहत, परिपूरण तथा न्यायसम्बन्धी कुनै पनि कार्य राज्यबाट हुन नसक्दा आफुहरुले न्याय पाउन नसकेको द्वन्द्वपीडित परिवारको गुनासो छ ।

द्वन्द्वको समयमा हत्या र बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरुका परिवारको आर्थिक तथा सामाजिक अवस्था दयनीय बन्दै गएको छ । घरमा कमाउने घर मुलीलाई नै बेपत्ता बनाएपछि पीडित परिवारको आर्थिक, सामाजिक, पारिवारिक तथा मानसिक अवस्था दिनप्रतिदिन खस्किदै गएको छ ।

विस्तृत शान्ति सम्झौताको अनुसूची चारमा द्वन्द्वरत पक्षबाट बेपत्ता पारिएका व्यक्ति तथा युद्धको समयमा मारिएकाहरुको वास्तविक नाम, थर र ठेगाना विस्तृत शान्ति सम्झौता भएको मितिले ६० दिन भित्र सार्वजनिक गरी परिवारजनलाई समेत जानकारी गराउने उल्लेख गरिएको भए पनि विस्तृत शान्ति सम्झौता भएको २० वर्ष बितिसक्दा समेत बेपत्ता पारिएका व्यक्तिहरुको अवस्था सार्वजनिक हुन सकेको छैन ।

मैनामोती चौधरी

अन्य

भिडियो