घरको डीलभरी शोकाकुल आफन्त र छिमेकी । सेतो बस्त्रभित्र जीउ ओतेकी बसन्ता । काखमा ४८ दिनको शिशु । नजिकै सेतो बस्त्रमै छोरी छिन् । आमा, दिदिको नजिक बिछिप्त बनेकी अर्की छोरी । यो दृश्य देख्ने कसैले पनि आँसु थाम्न सक्दैनन् । अझ बसन्ता, शिशु र कलिला छोरीहरूले आफन्त मरेको पीडामाथि चिसो कसरी थामेका होलान् । बसन्ता त सुत्केरी हुन् । भदौ १२ गते छोरी जन्माएकी बसन्ता । यो समय आफैमा संवेदनशिल हुन्छ । दुई दिन पीडा खेपेर बच्चा पाउनुभएकोले ज्यान दरिन पाएकै थिएन । आफ्नो खानपान, सरसफाई र सुरक्षाको त परैको कुरा । डेढ महिनाको बच्चा कसरी जोगाउने भन्ने चिन्ता बसन्तामा छ । आफूलाई भन्दा पनि बच्चा रुघाखोकी लागिरहेको उहाँले बताउनु भयो ।

असोज २४ गते पति कृषि बहादुर घर्तिको ३४ वर्षको उमेरमा हृदयघातको कारण मृत्यु भएपछि परिवार शोकमा डुवेको छ । ६ दिदिपछिका एक्ला छोरा कृषि बहादुर । आमा–बुबासँगै हुनुहुन्थ्यो । गाउँमा राम्रो कमाई नभएपछि परदेश पस्नुभयो । सोँचे अनुसार कमाई नभएपछि गाउँ आउनुभएको थियो । छोराछोरी र घरको अवस्था फेर्न सुख थिएन उहाँलाई । साँढे दुई वर्ष आमा–बुबा छोडेर भारत जानुभयो । गत वर्ष घरमा बुबाआमा स्वास्थ्य अवस्थाको कारण गाउँ फर्किनुभएको थियो ।
चैत महिनामा उहाँको आमा बित्नुभयो । जेनतेन ऋणधन गरेर किरिया उम्काउनु भयो । उहाँ बुबा र परिवार छोडेर कहीँ जान सक्नुभएन । गाउँमै सुख–दुःख गरिरहनुभएको थियो । असोज २४ गते एक्कासी हृदयघातको कारण उहाँले ज्यान गुमाउनु भयो । जसका कारण सुत्केरी पत्नी, सानो बच्चा र सानै छोरीहरूसँगै बुबा बिचल्लीमा परे । अवस्थाले किरिया नगर्न बसन्ताको मनले मानेन । परिस्थति अनुकुल पटक्कै थिएन । आफ्नो पीडामाथि करिया उम्काउने अवस्था परिवारमा थिएन । छिमेकीहरूको आग्रह र उर्जाले सुत्केरी अवस्थामा बसन्ता बाध्य भएर किरिया बस्नुभयो ।
बसन्ताको घरमा १५/२० जना छिमेकी टुट्दैनन् । सबैले शक्ति थपेका छन् । तर, कोरा एकसरो बस्त्राले सुत्केरीको ज्यानमा न्यानो छैन । किरियाकै कारण खानपान राम्रो छैन । परालमाथि सुतेर दिन बिताउनुभएको छ । छिमेकीले कपडा नै दिए पनि किरिया कर्मको कारण लगाउन मिलेन । राम्रो खान मिलेन । त्यसैले ज्यान गल्दै गएको छ । बसन्ताका दुध किरिया बस्दाकै दिनबाट आउन छोड्यो । अहिले आफन्तले भैसीको दुध खुवाएर बच्चा बचाएको स्वय बसन्ताले बताउनु भयो । ‘मैले नखाएपछि बच्चालाई कसरी दुध आउनु । छिमेकीहरूले भैँसीको दुध खुवाएर बचाउनुभएको छ । किरियामा मन लागेको खाने र लगाउने कुरै भएन’, उहाँले भन्नुभयो ।
सुत्केरीलाई प्रयाप्त आराम चाहिन्छ । पोशिलो खानपान र नियमित स्वास्थ्य परीक्षण नभै हुँदैन । तर, परिस्थिति अनुकुल कहिल्यै भएन । बसन्ता पतिको मृत्यु हुँदा ४० दिनको सुत्केरी हुनुहुन्थ्यो । खबरले बेचैन बनायो । अझै मुर्छा छुट्छ । अहिलेको भन्दा भोलिको बारेमा सोच्नै नसकेको बसन्ता बताउनुहुन्छ । अहिले बसन्ता र ११ वर्षीया छोरी रञ्जिता किरिया गरिरहेका छन् । बसन्ताका छोरीहरू ४८ दिनको, ११ वर्षीया रञ्जिता र सात वर्षीया रजिना छन् । दुई बहिनी स्थानीय विद्यालयमा पढ्छन् ।
दमको बिमारले ६ महिना अगाडि आमा छमकली घर्तिको मृत्यु भएको थियो । पत्नी र छोराको पीडाले ७५ वर्षीय भीम बहादुर घर्ति आँखाभरी आँसु लिएर तड्पिनुभएको छ । घरमा खाने केही छैन । हुर्किँदै गरेका छोरीहरूको समस्या उस्तै छ । घर्तिले एउटा समस्या मात्र नभएकाले पीडाले मुर्छित बनाएको बताउनु भयो । ‘पीडा पनि के के सहने र भोग्न । घरमुली ढले अब बुढो घर, ससुरासँगै केटाकेटी कसरी थेग्ने । सोँच्दा पनि रिङ्गटा आउछ’, बसन्ताले भन्नुभयो ।
घर्ति परिवारको पीडामा सहजीकरण गर्न अहिले अभियान चलाइएको छ । स्थानीय सरकार मदाने गाउँपालिकाको तर्फका सामान्य आर्थिक सहयोग भएको छ । तर, देशविदेशबाट आर्थिक सङ्कलन भइरहेका छन् । परिवारमा घटना दोब्रिएकाले अर्थ व्यावस्थापनमा चुनौति भइरहेको स्थानीय तोय नारायण पराजुलीले बताउनु भयो । ६ महिना अघि आमाको निधनमा पनि स्थानीयले सहयोग गरेर किरिया गरिएको पराजुलीले उल्लेख गर्नुभयो । बसन्ता सुत्केरी हुँदा पनि खर्च थिएन । परिवारमा राम्रो आर्थिक अवस्था नभएकाले बिहान बेलुकाको छाक टार्न मुस्किल छ । तर, परिथितिको सामना सामूहिक सहयोगबाट भइरहेको मृतकका भिनाजु रामु घर्तिले बताउनु भयो । उहाँले गाउँको रुखो बारी र शिर ओत्ने घर बाहेक केही अर्थोपार्जनको उपाय नभएकाले सहयोग गर्न आग्रह गर्नुभयो । देख्नेलाई पीडाले मन थाम्न सकिँदैन । अझै भोग्नेलाई कस्तो भयो होला । ६ महिनाको फरकमा आमाछोराको मृत्यु भयो । यही बेला सुत्केरी भएकाले अवस्था झन् नाजुक बन्यो ।
मदाने गाउँपालिकाका उपाध्यक्ष सरिता खड्काले अहिले अवस्था मन लागेको खाने र लगाउने नभएकाले किरियाबाट निस्केपछि आवश्यकताको आधारमा सहयोग गर्ने बताउनु भयो । उहाँले अहिलेकै अवस्थामा पनि सुत्केरी आमा र बच्चाहरूको स्वास्थ्य अवस्थाका बारेमा आफूहरू गम्भीर भएर निगरानी गरिरहेको बताउनु भयो ।