INSEC Online

📅 २०८३ जेष्ठ २१

सानै उमेरमा विवाह गर्दा पाठेघर समस्याको जोखिम बढ्दो

सियारी गाउँपालिकाकी ६२ वर्षीया पार्वती विक पाठेघर खस्ने समस्या बोकेर हिँडिरहनुभएको झण्डै सात वर्ष भयो । सानै उमेरमा विवाह गर्नुभएको पार्वतीले १४ वर्षको उमेरमा पहिलो सन्तानलाई जन्म दिनुभयो । तीन सन्तानकी आमा रहनुभएकी पार्वतीले भन्नुभयो, ‘सानै उमेरमा विवाह भयो, धेरै काम गर्नु पथ्र्यो अहिलेजस्तो कहाँ थियो ? परिवारको सङ्ख्या ठूलो थियो । खान लगाउन पनि त्यस्तै दुख थियो । त्यही बेला छोरा छोरी वर्षैते जन्मिए, उमेर कलिलो, के खाने, कसरी स्वास्थ्यको ख्याल गर्ने, केही थाहा थिएन । त्यो बेलामा बुहारीलाई घरपरिवारका सदस्यहरूले पनि खासै वास्ता गर्दैनथे । सबैले आफ्नो काममै ध्यान गर्थे । सुत्केरी हुँदा पनि कामले फुर्सद पाइएन । खानलाई पनि रुखो गाँस भन्दा केही पाइएन ।’ पार्वतीले पाँच सन्तानलाई जन्म दिए पनि अहिले तीन सन्तान मात्र जीवित छन् । आराम गर्नुपर्ने समयमा कामको बोझसँगै पोषिलो खानाको अभावका कारण आङ खस्ने समस्याले थलिएको पार्वती बताउनुहुन्छ ।

कलिलो उमेरमा विवाह भयो । कलिलैमा छोराछोरी जन्मिए । स्यहार सुसार र पोसिलो खाना खान नपाएको र छोरा छोरीलाई पनि खुवाउन नसकेकोले गर्दा छोरा छारी पनि सधैँ बिरामी परे । दुई जनालाई बचाउन सकिएन । त्यति बेला अराउने सिकाउने कोही हुँदैनथ्यो । घरका सासु ससुरालाई काम भए पुग्ने । पतिले पनि खासै वास्ता गर्दैनथे । उ बेला सुत्केरी हुँदा गतिलो खान पनि पाइएन । माइती घरमा पनि आफ्नो आमा भएको भए यसरी जीन्दगीभरी रोगी भएर रुँदै हिँड्न पर्थेन होला, पार्वतीले भन्नुभयो ।

सुरुमा त तल्लो पेट दुख्ने, पेट पोलेजस्तो हुन्थ्यो । पछि झन् दुख्न थाल्यो । ढाड दुख्ने, अप्ठ्यारो, कहिलेकाहीँ मासुको डल्लो जस्तो बाहिर निस्कन थाल्यो, हिँड्दाखेरी दुई ओटै खुट्टाको काछमा ठोकिने र पाछ्ने समस्या भयो । धेरै समयसम्म कसैलाई भन्न उहाँले सक्नुभएन । कहिलेकाहीँ त कक्रकै पार्थ्यो उहाँलाई । उहाँ एक्लै रुनुहुन्थ्यो । धेरै दुख्दा मेडिकलमा गएर नदुख्ने औषधिको खानुहुन्थ्यो । यसरी नै चलेको थियो । उहाँको छोरा छोरी साना साना थिए । एक दिन पतिलाई भन्छु भनेर नजिकै जानुभयो तर फेरी यस्तो कुरा गरेभने घरका मान्छे र पतिले हेला गर्लान छोरा छोरीले दुख पाउलान् भनेर उहाँले भन्नै सक्नुभएन । दुई तीन पटक त धामीकोमा हेराउन पनि उहाँ जानुभयो । तर वेथा एकातिर उपचार अर्कोतिर भएछ । कसरी सञ्चो होस, उहाँले गुनासो पोख्नुभयो ।

धेरै दुख्न थालेपछि गाउँकै एक जना बहिनीले भने उहाँलाई स्वास्थ्य क्याम्प आउँदै छ, निःशुल्क जाँच्न पाइन्छ भन्नुभयो । उहाँ पनि गएर आफ्नो कुरा सबै सुनाए डाक्टरले आङ खसेको छ, अपरेशन गरेर निकाल्नुपर्छ भन्नुभयो । अहिले तीन महिनाजति भयो । उहाँको अप्रेशन निःशुल्क भयो । अहिले पहिलाको जस्तो दुख्ने समस्या छैन । तर पनि उहाँको शरीर कमजोर भएको छ । आँखा पनि कमजोर भएको महशुश भएको छ । पहिला अज्ञानताले गर्दा यस्तो रोग लाग्यो । आफूलाई जस्तो कसैलाई दुख व्यर्होन नपरोस, उहाँ भन्नुहुन्छ । सरकारले गरिब जनतालाई स्वास्थ्यको विषयमा सिकाएर यस्ता समस्या लागेर उपचारमा खर्च गर्न भन्दा रोग नलाग्दै यस्ता समस्याको विषयमा जानकारी दिए हुन्थ्यो । आफू त रोगी भइयो, अरुलाई यस्तो नहोस, उहाँले भन्नुभयो ।

संविधानमा मौलिक हकका रूपमा राखिएको स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्न नसक्दा समुदायमा आधारित स्वास्थ्य शिक्षा कार्यक्रम प्रभावकारी हुन नसक्दा महिलाहरू आङ खस्ने समस्याले ग्रसित भएका हुन । बुटवल उपमहानगरपालिकाको मिलनचोककी ४८ वर्षीय पुनम रजाली मगर भन्नुहुन्छ, ‘समुदायमा आधारित स्वास्थ्य शिक्षा कार्यक्रम नै लागु हुन नसक्दा पनि यस्ता समस्या बढेको बताउनुहुन्छ ।’ पार्वती त एक पात्र मात्र हुनुहुन्छ । यस्ता धेरै आमा, दिदी, बहिनी र भाउजुहरू हुनुहुन्छ, जसले आङ खस्ने समस्यालाई बोकेर दिनदिनै विभिन्न समस्या खेपिरहनुभएको र दिन प्रतिदिन नसर्ने रोगहरूको सिकार भइरहेका छन् । धेरैले आङ खस्ने समस्याले लामो समयदेखि पिडा बोकेर हिँड्नुपर्ने अवस्था रहेको छ । आफ्नो समस्या यस्तो भयो भनेर कसलाई नसुनाउनी, सुनाए पनि रोग आफै भित्र रहने हो भन्ने सोँच र हेला भइने हो की भन्ने डरले पनि लुकाउने गरेको पीडितहरू बताउँछन् ।

भिम अस्पताल, भैरहवाका मेडिकल सुपरिटेण्डन डा. शकुन्तला गुप्ताले यस्तो समस्या आउनुमा महिलाको सानो उमेरमै विवाह हुनु, अशिक्षा, आर्थिक अभाव साथै सुत्केरी अवस्थामा आराम कम गर्नु, पोसिलो खाना नखानु लामो समयसम्म प्रश्रव व्यथा लाग्नु, बच्चा ठूलो भएमा वा एकभन्दा बढी बच्चा भएमा पनि पाठेघर खस्ने समस्या आउन सक्ने, आमाको तौल बढी भएमा, महिनावारी रोकिएपछि एस्ट्रोजेन हर्मोनको कमी भएर, पाठेघरमा ट्युमर भएमा, लामो समयसम्म खोकी लागिरहेमा आङ खस्ने समस्या हुनसक्ने बताउनु भयो ।

डा. गुप्ताले सानो उमेरमा विवाह हुनु, कलिलै उमेरमा बच्चा जन्माउनु, सुत्केरी अवस्थामै गाउँको परिवेश मेलापात गर्नपर्ने, पेटभरी खानाको पनि अभावका कारण आङ खसेर विभिन्न समस्याहरूसँग महिलाहरू जुधिरहनु पर्ने बाध्यता, आङ खस्ने समस्याबाट महिलाहरू जोगिनको लागि सावधानीका विषयमा कही कतैबाट जानकारी मुलक शिक्षा नहुँदा पनि थुप्रै दिदीबिहीनीहरू यस्तो रोग पालेर बस्न बाध्य भएको बताउनु भयो ।

बच्चा जन्माउँदा लामो व्यथा लागेर वा उक्त समयमा राम्रो हेरचाह अनि सही तरिका अपनाइएन भने पनि आङ (पाठेघर) कमजोर भई खस्न सक्छ । आफ्नो स्थानबाट पाठेघर (युटेरस) बाहिर निस्कने वा आफ्नो ठाउँमा रहन नसक्ने अवस्थालाई पाठेघर खसेको भनिन्छ । महिला स्वास्थ्यका लागि धेरै कार्यक्रम अनि योजना बने पनि हाम्रो जस्तो विकासोन्मुख देशमा यो समस्या अझै टड्कारो रूपमा रहेको छ । महिला घरका कामदेखि लिएर घर बाहिरका काममा पनि उतिकै लागिपरेका हुन्छन् । गह्रौँ काम गर्नेदेखि भारी बोक्नेसम्मका कामले बच्चा जन्माउने महिला जोखिममा पर्छन् ।

पाठेघरलाई मांसपेशीका डोरीजस्ता विभिन्न तन्तुले आफ्नो ठाउँमा अड्याएर राखेका हुन्छन् । कुनै पनि सङ्क्रमणले, बच्चा जन्मने समयमा अत्यधिक बलको प्रयोगले, बच्चाको जन्मको समयमा मांसपेशीमाथि परेको जोरको प्रभाव कम हुन नपाउँदै घरेलु वा अन्य खालका जोर पर्ने काम गर्दा ती तन्तु कमजोर भएका कारणले पाठेघरमा दुष्प्रभाव पर्दछ । यति मात्र होइन धेरै गर्भधारण र प्रसूतिले समेत पाठेघरलाई आफ्नो ठाउँमा अड्याइराख्ने डोरीजस्ता तन्तुको क्षमतामा प्रतिकूल प्रभाव पर्दछ । जसले गर्दा खुकुलो भएको पाठेघर आफ्नो ठाउँबाट तल झर्दछ र कहिलेकाहीँ त योनिमार्गबाट बाहिर निस्कने वा स्थायी रूपमा बाहिर निस्किइराख्ने जोखिम पनि हुनसक्छ ।

पाठेघरको यस्तो अस्थिरताका कारण त्यसले आफ्नो ठाउँ छाड्दा त्यसको ठ्याक्कै अगाडि बसेको पिसाबको थैली र मूत्रनलीमा पनि दबाब पर्छ । यसो हुँदा मूत्रप्रणालीमा सङ्क्रमणको विकास हुन सक्छ र छिटोछिटो पिसाब लाग्ने अथवा पिसाब पोल्ने हुन सक्छ भने आफ्नो ठाउँ छाडेको आङ सङ्क्रमणको उच्च जोखिममा हुन्छ । त्यस्तो सङ्क्रमण पाठेघरबाट तल्लो पेटका विभिन्न अङ्ग, खासगरी योनिमार्ग वा योनिमुखतिर सर्दछ अथवा त्यसको ठीक उल्टो मूत्रनली, योनिमार्ग वा मलद्वारका सङ्क्रमण सजिलैसँग पाठेघरसम्म पुग्ने भएकोले विशेष ध्यान दिन डाक्टरको सुझाव रहेको छ । महिनावारीका बेलामा तल्लो पेट दुख्ने समस्या बढी हर्मोनको गडबडीका कारणले हुन्छ भने महिनावारीको समय बाहेक अरू बेला तल्लो पेट दुख्ने समस्यामा यस्ता सङ्क्रमण जिम्मेवार हुन्छन् । यस्तो सङ्क्रमणका कारणबाट योनिमार्गबाट प्रवेश गर्ने शुक्रकीटहरू योनिमार्गमै नष्ट भएर महिलाले गर्भधारण समेत गर्न सक्दैनन् ।

डा.गुप्ताले माथि उल्लेखित समस्याहरू भएमा परिवार नियोजनका साधन प्रयोग गरी जन्मान्तर बढाउने, स्वास्थ्य संस्थामा बच्चा जन्माउने, गर्भवती हुँदाको अवस्थामा गह्रौँ सामन नउचाल्ने, सुत्केरी अवस्थामा आराम गर्ने, पाठेघरमा ट्युमर पलाएको छ भने उपचार गर्ने, लगातार खोकी वा कब्जियत भए, त्यसको समयमै समाधान खोज्ने, तौल नियन्त्रण गर्ने, केगल व्यायम पाठेघरको मांसपेशी अनि पाठेघरलाई सपोर्ट गर्ने मांसपेशीलाई बलियो बनाउनका लागि केगल व्यायम नियमित गर्ने, पिसाब फेरिरहेको बीचको बेलामा पिसाब रोक्न खोज्ने, रोक्ने अनि फेरि फेर्ने अथवा ‘पेल्भिक फ्लोर’ का मांसपेशीलाई कडा बनाउने अनि बिस्तारै खुकुलो बनाउने अभ्यास जुनसुकै बेला गर्ने, जनचेतना जगाउने खालका कार्यक्रमहरू सञ्चालन गर्ने, नियमित स्वास्थ्य जाँच गराउने कार्य गर्न सकेमा जोखिम कम हुने बताउनु भयो ।

स्वास्थ्य कार्यालय रुपन्देहीका परिवार नियोजनका सुपरभाइजर प्रभाष पन्थीका अनुसार जिल्लामा आ.व.२०८०/८१ जेठसम्मको रिपोर्ट अनुसार जम्मा ७ सय ६४ जनाको महिलाहरूको आङ खस्ने समस्याको स्क्यानिङ गर्दा १ सय २९ जना महिलाहरूमा आङ खस्ने समस्या पहिलो र दोस्रो चरणको समस्या देखिएको, १ सय ५८ जनामा तेस्रो चरणको आङ खस्ने समस्या भएको र १० जनाको चौथो चरण अर्थात जटिल अवस्थाको भएको बताउनु भयो । त्यस्तै ३ सय ९९ जना महिलाको पाठेघरमा रिङ पेसरी लगाएको, १७ जना महिलालाई अन्य अन्य जाँच समेत आवश्यक देखिएकोले अस्पतालमा रेफर गरिएको र २५ जनाको शल्यक्रिया गरिएको बताउनु भयो ।

त्यसैगरी पाठेघरसँगै स्तनको स्क्यानिङ ८ सय ८१ जनामा गरिएकोमा ६ जनामा क्यान्सरको जोखिम रहेकोले उनीहरूको थप पहिचानका लागि रेफर गरिएको, त्यस्तै भिआइए जाँच ३ हजार ३ सय ६४ जनामा गरिएकोमा २ सय ५९ जनामा शंकास्द रहेको तथ्याङ्कमा उल्लेख छ । भिआइए जाँच रुपन्देहीका १६ ओटै स्थानीय तहबाट गरिने सुपरभाइजर पन्थीले बताउनु भयो ।
माथि उल्लेखित तथ्याङ्कलाई विश्लेषण गर्ने हो भने पनि पाठेघरको समस्या भएका महिलाहरूको सङ्ख्या बढ्दो अवस्थामा रहेको छ । आङ खस्ने समस्याको जाँच ३५ वर्षमाथिका महिलाहरूमा गरिन्छ र यो रोग नसर्ने रोग भएकोले यसले तुलनात्मक रूपमा ग्रामीण क्षेत्रका महिलाहरूलाई बढी सङ्क्रमित बनाएको छ ।

अन्य

भिडियो