INSEC Online

न माओवादीले सम्झियो, न सरकारले हाम्रो दुःख बुझ्यो

घरको नाम थियो पार्वती ताम्राकार । तर, युद्धले उनको नाम फेरिदियो, ‘शिला’। युद्धले नाम मात्रै होइन, जीवनको बाटो पनि फेरियो । १९ वर्षीया युवतीले घर, परिवार र आमाको काख छाडेर ‘नयाँ नेपाल’ को सपनासँगै बन्दुकको बाटो रोजिन् । तर, ०३९ वैशाख १ गते अमरगढी नगरपालिका–७ दुमडामा जन्मेकी शिलाको त्यो बाटो उनको जीवनको अन्तिम यात्रा बन्न पुग्यो ।

आज पनि उनकी आमा पारु ताम्राकारको स्मृतिमा छोरीको हाँसो भन्दा बढी गोलीको आवाज गुञ्जिरहन्छ । किनकी उनले छोरीको मृत्युको खबर त पाइन्, तर, अन्तिम अनुहार हेर्न कहिल्यै पाइनन् ।

०५९ साल वैशाख १८ गतेको रात । अमरगढी–६ दुमडास्थित घरमा सबै जना निदाएका थिए । बिहान उठ्दा पारुकी जेठी छोरी घरमा थिइनन् । पहिले आफन्तको घर गएको होला भन्ने लाग्यो । तर, दिन बित्दै जाँदा गाउँभरि अर्को खबर फैलियो, पार्वती माओवादीमा गएकी छन् । त्यतिबेला उनी केवल १९ वर्षकी थिइन् । ‘मलाई केही भनेकी थिइनन्,’ पारु सम्झिन्छिन्, ‘एक्कासि हराइन् । पछि गाउँलेबाट माओवादीसँग गएको खबर आयो । त्यसपछि मेरो जीवन नै बदलियो ।’

छोरी खोज्दै जंगल–जंगल भौतारिइन् । पति दलजित ताम्राकार त्यस बेलामा रोजगारीका लागि भारतमा थिए । घरमा साना छोराछोरी थिए । तर, आमाको मन छोरीकै चिन्ताले भरिएको थियो ।

उनी कहिले आलितालतिर पुग्थिन्, कहिले भागेश्वरको चौडसम्म । जहाँबाट छोरीको सुइँको पाइन्छ भन्ने सुनिन्थ्यो, त्यहीँ पुग्थिन् । तर उनले कहिल्यै छोरीलाई भेटाउन सकिनन् । ‘दिनभरि खोज्थेँ, रातभरि रुँदै बस्थेँ,’ उनी भन्छिन्, ‘छोरी जीवित छ कि छैन भन्ने पनि थाहा थिएन ।’

तर, खोजीको त्यो यात्रामा उनलाई अर्को पीडा पनि सहनुप¥यो । घरमै पुग्थ्यो सेना, टाउँकोमा पेस्तोल ताकिन्थ्यो । शिला माओवादीमा लागेपछि परिवार पनि शंकाको घेरामा प¥यो । नेपाली सेनाका टोलीहरू घरमै पुग्थे । बारम्बार सोधपुछ गर्थे । छोरी कहाँ छ ? भनेर दबाब दिन्थे । पारुका अनुसार कतिपय दिन सोधपुछ मात्रै भएन, सेनाले दुव्र्यवहार समेत गर्यो ।

उहाँले भन्नुभयो–‘हामीलाई थाहा नभएको कुरा कसरी भनौँ ? कहिले बुटले हान्थे, कहिले गाली गर्थे । एकपटक त टाउकोमा पेस्तोल नै ताकेका थिए । त्यो दिन अहिले पनि बिर्सन सकेकी छैन ।’ छोरी गुमाएको पीडा एकातिर थियो, अर्को तर्फ राज्यको शंकाले परिवारलाई दिनहुँ त्रसित बनाइरहेको थियो ।

घर छाडेको करिब ६ महिनापछि पहिलो पटक शिलाको खबर आयो । डोका बेच्न गएका गाउँलेहरूले बेलापुरमा उनलाई देखेका थिए । त्यो खबरले पारुको मनमा आशाको झिल्को जगायो, ‘छोरी कम्तीमा जीवित त छ । तर, त्यो आशा धेरै दिन टिकेन । ०५९ साल कात्तिक ९ गते बेलापुरको एउटा चियापसलमा शिलासहितको माओवादी टोली बसेको थियो । त्यही बेला दिपायलबाट आएको सेनाको गस्ती टोली त्यहाँ पुग्यो । पारुको दाबी अनुसार, त्यसदिन सेनाले माओवादी पोषाक लगाएर आएका थिए । शिलाहरूले आफ्नै साथी आएको ठाने । स्वागत गर्न खोजे । तर, केही क्षणमै गोली पड्किन थाल्यो ।

चियाको कप समाउन खोजेका हातहरू ज्यान बचाउन भाग्न थाले । गोलीबारीबाट उम्किएर शिला भागिन् । बेलापुर गाविस–७ (हाल नवदुर्गा गाउँपालिका–४) को सेरी लेक नजिकैको एउटा तरुलको डोबमा लुकेर बसिन् । सायद उनलाई लागेको थियो, अब बचिन्छ । तर, नियतिले अर्को निर्णय गरिसकेको थियो । नजिकै एक महिला घाँस काटिरहेकी थिइन् । उनले शिलालाई देखेकी थिइन् । केही बेरमै सेनाको टोली पनि त्यहाँ पुग्यो ।
महिलासँग सोधपुछ भयो । ‘नबताए ज्यान लिन्छौँ’ भन्ने धम्की दियो । डरले थरथर काँपेकी ती महिला अन्ततः शिला लुकेको ठाउँ देखाउन बाध्य भइन् । आमा पारुका अनुसार त्यसपछि शिलालाई लुकिरहेको ठाउँबाट निकालियो । उनी भाग्न र बाँच्न प्रयास गरिरहेकी थिइन् । तर, अन्ततः सेनाको नियन्त्रणमा परिन् ।

‘हातखुट्टा बाँधेर गोली हाने’ पारु भन्छिन्, ‘त्यसपछि मेरी छोरी कहिल्यै फर्केर आइन् ।’ १९ वर्षको उमेरमै एउटा जीवन समाप्त भयो । एउटा सपना समाप्त भयो र एउटा आमाको संसार उजाडियो ।

युद्धकालको त्रास यति गहिरो थियो कि परिवारले शिलाको शव समेत हेर्न सकेन् । घरमा भएका पति समेत भारतमा भएकोले उनी चार महिनापछि सेरी लेक पुगिन् छोरीको लुगा बाहेक अरु केही पनि भेटेनन् । अन्तिम संस्कार त परको कुरा, अन्तिम अनुहार समेत देख्न पाएनन् । त्यो पीडा आज पनि पारुको आँखामा देखिन्छ ।

‘छोरी मरी भन्ने सुनियो । तर, शव हेर्न सकिएन । अन्तिम पटक अनुहार पनि देख्न पाइएन । यही पीडाले आजसम्म पोलिरहन्छ,’ उनले भनिन् द्वन्द्व अन्त्य भयो । शान्ति प्रक्रिया सुरु भयो । सरकारले शिलाको परिवारलाई १० लाख रुपियाँ राहत दियो । त्यसपछि भने सहयोगको ढोका बन्द भयो ।

पारु भन्छिन्, ‘छोरीले परिवर्तनको सपना देखेर ज्यान दिइन् । तर, आजसम्म कसैले फर्केर सोधेन । राहतको रकम आयो, त्यहीँ सकियो । न माओवादीले सम्झियो, न सरकारले हाम्रो दुःख बुझ्यो ।’

देशमा गणतन्त्र आयो । संविधान बन्यो । माओवादी पटक–पटक सरकारमा पुग्यो । युद्धका नारा इतिहासका पानामा सीमित भए । तर, अमरगढीको एउटा घरमा समय अझै ०५९ सालमै रोकिएको छ । जहाँ एक आमा आज पनि छोरीको प्रतीक्षा र सम्झनामा बाँचिरहेकी छन् ।

शेरबहादुर भण्डारी

अन्य

भिडियो