INSEC Online

📅 २०८३ जेष्ठ २१

शान्ति सहमतिले दिन नसकेको शान्ति

केशव बोहोरा

डडेल्धुरा

लामो दिनको शुरुवातको तरखर गर्दे गरेकी जोगबुडा गाविस-४ गजलेगडाकी मधु बुढामगरका लागि ०६१ भदौ १ कालरात्रि बनेर आइपुग्यो । त्यस दिनको घटनाले उनलाई विक्षिप्त झै बनाएको छ । बारम्बार उनी बर्बराउँछिन्, “हे भगवान्, मेरो निर्दोष पतिको हत्या गर्ने हत्याराहरू र मलाई बलात्कार गर्नेहरूको नास होस् ।” कञ्चनपुर जिल्लाको भगतपुर र अर्जुनी ब्यारेकबाट सो दिन झिसमिसेमा आएका सुरक्षाकर्मीहरूद्वारा आफ्ना पति रतन र जेठाजु नरबहादुर मारिएपछिको पीडासँगै तिनै सुरक्षाकर्मीद्वारा सामूहिक रुपमा बलात्कृत हुनुपरेपछि लागेको चोट उनको मनमा आलै छ ।

“अपराधीहरूले मेरो श्रीमान र जेठाजुलाई घरबाट कुट्दै लगेर तल जंगलमा गोली हानी हत्या गरे । मलाई गोठमा लगेर बलात्कार गरे । यसले मेरो हिर्दयलाई अहिले पनि भतभती पोलिरहेको छ । म कसरी भुल्न सक्छु र -“मधु बुढा भन्छिन् ।

सुरक्षाकर्मीले दाजुभाइ नरबहादुर बुढामगर र रतन बुढा मगरलाई माओवादीको आरोपमा घरबाटै गिरफ्तार गरी नजिकैको जंगलमा लगी गोली हानी हत्या गरेका थिए ।

एकातिर पति मारिनु र अर्कोतिर गाँउलेकै अगाडि बलात्कृत हुनुपरेको पीडासँगै दुई छोरी र एक छोराको लालनपालनको चिन्ता पनि उस्तै छ । पतिको अभावमा बेसाहारा भएकी मधुलाई छोराछोरीको लालनपालन र पढाइ लेखाइको समस्याले थप बदलाको भावना जागृत गराएको छ ।

यसवर्षमात्र कक्षा ७ मा भर्ना गर्न नसकेर मधुले जेठी छोरी मिनाकुमारी बुढालाई स्कुल छुटाउन बाध्य भइन् । अरु दुई छोराछोरीको भविष्य र पठनपाठनको अवस्था पनि दोसाँधमा छ । खेतीपातीका नाममा जंगलको बीचमा दुईचार कट्टा रोपनी पाखो जमिन छ तर खेती गर्ने पति गुमेपछि कसरी खेती गर्ने भन्ने समस्या छ । गाईगोरु,बाख्रा पालेर अहिलेसम्म घरपरिवार र केटाकेटीको खर्च जेनतेन चलाइरहेको उनी बताउँछिन् ।

केटाकेटी हुर्कदै गरेको अवस्थामा कमाउने पति गुमाएर बेसहारा बनेकी मधुको जस्तै पीडा नरबहादुरकी पत्नी नन्दकलीको पनि छ । उनका पनि दुई वटा छोराछोरी छन् । जेठो छोरा रामबहादुर बुढा मगर अपांग छ । त्यसो हुँदा उनलाई पनि सन्तान हुर्काउन र पढाउन धौधौ नै छ ।

पतिका हत्यारालाई सजाय हुने र बालबच्चालाई सहयोग पाइने आसमा उनीहरु सबै कार्यालय पनि धाइसके । तर न त राहत न क्षतिपूर्ति न त दोषीलाई नै कारवाही । मधु र नन्दकलीको मात्र हैन त्यस क्षेत्रका समस्त जनताहरूको यसमा गुनासो छ ।

द्वन्द्वका नाममा सहरका होटेलहरूमा पैसो खेती गर्ने गैरसरकारी संस्थाहरूले पनि यस्ता वास्तविक पीडितहरूलाई राहत दिन नसकेको विचार राख्छन् जोगबुढा गाविस-४ का पूर्व वडा सदस्य वीरबहादुर धामी । संघसंस्थाहरूलाई गाँउमा पुगेर काम गर्न आग्रह गर्दै उनी भन्छन्, “कसरी सरकार छ भन्ने, कसरी संघसंस्थाले काम गरिरहेका छन् भन्ने, वास्तविक पीडितको पीडा सुनिदिएनन् भने ।”

विगत ११ वर्षो हिंसात्मक द्वन्द्वको क्रममा डडेल्धुरा जिल्लाको जोगबुढा क्षेत्रमा यस्ता घटना थुप्रै छन् । यस क्षेत्रमा मात्र राज्य र माओवादीबाट करीब १ सय जनताको हत्या गरिएको छ भने कैयौ यातनाका सिकार भएका थिए । दोहोरो मारमा परेका यस क्षेत्रका जनता अहिले माओवादीले हतियार बिसाएर युद्धको अन्त्यको घोषणा गरेकोमा हषिर्त छन् तर द्वन्द्व पीडितहरूको आधारभूत समस्यालाई सरकारले सम्बोधन गर्न नसकेमा, दोषीमाथि कारवाही हुन नसकेमा युद्धको अन्त्य हुने कुरामा शंका व्यक्त गर्छन् । डडेल्धुरा नागरिक समाजका सदस्य वीरबहादुर महरा भन्छन्, “प्रचण्ड र कोइरालाले हस्ताक्षर गर्दैमा युद्धको अन्त्य भएको मानिदैन । दिगो शान्तिका लागि दोषीमाथि कारवाही र पीडितलाई उचित क्षतिपूर्ति दिलाउनु जरुरी छ ।”

 

अन्य

भिडियो