नातिबाबु धिताल
२२ साउन ०६३
घर नजिकै प्राथमिक विद्यालय छ तर भोटेनाम्लाङका १२ वर्षीय कल्साङ तामाङ आफ्ना अभिभावकसँगै भेडा गोठालो बनेर दिन बिताउन बाध्य छन् ।
आफ्नो उमेरका प्रायः साथीहरु विद्यालय जाँदा तामाङलाई पनि रहर लाग्छ तर आफ्नो बाबुसँगै भेडीगोठ जानुपर्दा पढ्न नपाएको गुनासो गर्दछन् । उनी मात्र हैन उनको दाजुभाइ र बहिनी कोही पनि विद्यालय जाँदैनन् । चिसो बढ्दै आएपछि बेसी झर्नु र गर्मीमा लेक जानु उनीहरुको दिनचर्या बनिसकेको छ ।
उक्त गाउँका धेरै बालबालिका गोठालो लाग्ने, घरधन्दा हेर्ने र भाइबहिनी स्याहार्ने कामका कारण विद्यालय जान नपाएको भोटेनाम्लाङ प्राविका विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष वीरबहादुर तामाङ बताउनुहुन्छ । तामाङका अनुसार ४ सयको हाराहारीमा प्राथमिक विद्यालय जाने उमेरका बालबालिका भएपनि पुस माघमा १ सयदेखि १ सय ५० र अन्य समयमा पचासदेखि साठी जना मात्र विद्यालय जाने गरेका छन् ।
ज्यामिरे गाविस-८ का १३ वर्षीय लक्ष्मण तामाङ भाइबहिनी हेर्ने मान्छे नभएकाले विद्यालय जान नपाएको गुनासो गर्दछन् । उनी भन्छन् -जग्गामा कमाइ हुँदैन, बा पैसा कमाउन शहर जानुभएको छ । आमालाई गाईवस्तु स्याहार्दै फुर्सद छैन । छ जना भाइबहिनी छन्, उनीहरुलाई हेर्दा र घरधन्दा गर्दै फुर्सद हुँदैन, कसरी पढ्न जाने -सोही गाउँका श्यामबहादुर तामाङले नौ जना छोराछोरी भएपनि एउटैले विद्यालय टेक्न पाएका छैनन् । इश्वरका वरदानका नाममा वर्षोनी सन्तान जन्माएपछि उनीहरुलाई खुवाउनै मुश्किल पर्छ, कसरी पढाउनु -स्थानीय कुमार तामाङले भने -‘सन्तान धेरै जन्माउनु हुँदैन भन्यो भने भैंसीलाई सिङ्को भारी हुँदैन भन्छन्, जन्माएका छोराछोरीलाई उचित शिक्षा र पालनपोषण गर्न सक्दैनन् ।’
सन्तान धेरै हुनुको पीडा बोकेर भोताङ गाविसका १५ वर्षीय काले तामाङ तिपेनी बजारमा भारी बोक्ने काम गर्दै आएका छन् । आफू पढ्न नपाए पनि भाइबहिनी पढाउन आफूले भारी बोकेको बताउने काले भारी बोकेर घरखर्च टार्नै मुश्किल परेको गुनासो गर्छन् । उता कातर्चेका १४ वर्षीय अमिर तामाङ गाउँबाट काठ बोकेर सदरमुकाम पुग्छन् । उनको भनाइ थियो -‘माओवादीको नाकाबन्दीमा ठूला मान्छे जाँदैनन् म जस्तै अरु साथीहरुलाई लिएर जानुपर्छ ।’
यो कारुणिक र दर्दनाक झलकहरु केहीलाई दन्त्यकथा जस्तो लाग्न सक्छ । यी त सिन्धुपाल्चोक जिल्लाभरिका बालबालिकाको अवस्थाको उदाहरणहरु मात्र हुन् । यस्ता घटनाहरु जिल्लाभरमा बग्रेल्ती छन्। दुर्गम र जनजातिको बस्तीमा वर्षोनी १० देखि २० प्रतिशत बालबालिकाले विद्यालय छाड्ने गरेको तथ्यांक जिल्ला शिक्षा कार्यालयको छ । विद्यालय छाड्नुमा आर्थिक समस्या, जनचेतनाको अभाव र शिक्षित बेरोजगारको संख्या बढ्नुले पनि प्रमुख कारण भएको स्थानीय शिक्षकहरु बताउँदछन् ।
प्रभावकारी शैक्षिक कार्यक्रमको अभावका कारण विद्यालय छाड्ने संख्यामा वृद्धि हुने गरेको जनता मावि ज्यामिरेका शिक्षक केदार विष्टको तर्क छ । उनको विचारमा जागिरमुखी शिक्षाका कारण शिक्षित बेरोजगारको संख्या बढ्यो । छिमेकमा बेरोजगार देखेपछि गाउँलेहरुमा पढाउनुपर्छ भन्ने उत्साहमा कमी आएको छ ।
सदरमुकाम, शहर र बजारमा बालबालिकाको क्षेत्रमा काम गर्ने प्रशस्त संघसंस्था भएपनि ग्रामीण र दुर्गम भेगमा ती संस्थाहरुले कुनै चासो नदेखाएको स्थानीय ग्रामीण बासिन्दा बताउँछन् । जिल्ला बालसंरक्षण समितिसँग जिल्लामा विभिन्न क्षेत्रमा सम्बन्धित बालश्रमिकहरु करिब ६ सय ७५ रहेको तथ्यांक छ । तर, यो तथ्यांकको तुलनामा कैयौं गुणा बढी बालबालिका कानूनले निषेध गरेका क्षेत्रमा श्रम बेच्न बाध्य छन् । जिल्लाको खानी ढुँगा बोक्ने, होटलमा भाँडा माझनेदेखि लिएर घरमै काम गर्ने हजारौ बालश्रमिक रहेको भएपनि कुनै पनि संस्थासँग त्यसको आधिकारिक तथ्यांक भेटिएको छैन ।