‘पन्नीवाली’ ६५ वर्षकी हुनुभयो । उहाँलाई गाउँभरी यही नामले चिनिन्छ । राजविराज नगरपालिका–४ मा डेरा गरी बसोबास गर्दै आउनु भएकी पन्नीवालीलाई आमाबुबाले राखिदिएको नाम हो, सकिना खातुन । तर, उहाँका परिवारका सदस्यहरूले समेत वास्तविक नाम बिर्सिसके झैँ लाग्छ । तराई मधेसमा पछाडि पारिएका महिलाहरूलाई नामले बोलाउने चलन छैन । माइती गाउँको नामका पछाडी वाली थपेर बोलाउने चलन छ । बिहेपछि महिलाहरूको थर मात्र नभई नाम पनि फेरिने गरेको छ । कतिपयलाई ‘फलाना’को श्रीमती र पाका उमेरकीलाई ‘फलाना’की आमा भनेर नै बोलाउने गरिन्छ । तराईमा माइती गाउँ, पति वा छोराको नामै महिलाको पहिचान हुने गरेको छ ।
तपाईंको नाम के हो ? यसरी सोध्दा उहाँले पनि पन्नीवाली भनेर परिचय दिनुभयो । वास्तविक नाम के हो भनेर सोध्दा बल्ल उहाँले नागरिकता ल्याएर देखाउनु भयो र भन्नुभयो सकिना खातुन । यसपटक कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि निषेध आदेश जारी भएपछि स्थानीय तहले राहत बाँडेका छैनन् । उहाँले अपेक्षासहित प्रश्न गर्नुभयो–‘नाम के का लागि सोध्नुभयो ? राहत बाँड्ने हो र ? वास्तविक नाम त यस्तै राहत बाँड्ने र सरकारी काम परेका बेला मात्र सोधिन्छ ।’ अरुबेला त यहाँ सबैले पन्नीवाली भनेर नै चिन्ने गरेको उहाँले बताउनु भयो । पन्नीवालीको नाम भने उहाँको पेसाले जुरेको हो ।

कानुनले विभेद नगरे पनि मैथिली संस्कार र संस्कृतिको प्राचीनतम परम्परा र मर्यादास्वरूप सामान्यतः महिलालाई नाम राखेर बोलाउने चलन छैन । पुरुषप्रधान समाज भएकाले सामाजिक स्तरमा महिलालाई पछाडि पार्न बेनाम राख्ने गरिएको परम्पराले निरन्तरता पाएको साहित्यकार तथा शिक्षक नन्दलाल आचार्य बताउँनुहुन्छ । अहिले विश्व महामारी कोभिड–१९ को नयाँ भेरिएण्टले कहर निम्त्याएको दोस्रो लहर चलेको छ । यही दिन सप्तरीमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १ सय नाघेको छ भने नेपालमा ७ हजार १ सय नाघेको छ । कोभिड सङ्क्रमणको दैनिक र साप्ताहिक अपडेट हेर्न यहाँ क्लिक गर्नुहोला
कोभिडका कारण विश्वको अर्थतन्त्र हलचल भएको छ । विश्वभरका मानिसहरू समस्यामा परेका छन् । नेपालीहरू पनि यसबाट अछुतो छैनन् । देशको अर्थतन्त्र के भएको छ र जेठ १५ गते नै प्रस्तुत बजेट कस्तो आउँछ भन्ने कुनै चासोको विषय होइन, खातुनलाई । खातुनलाई त चासो छ, कवाडी बोक्ने थैलो बोकेर घुम्न नपाएको तीन साता भयो । कवाडी बोक्ने थैलो भरिन नपाउँदा उहाँको पेट पनि खाली रहन थालेको छ । उहाँसँग दुई छोरा पनि कवाडी फोहोर उठाउने काम गर्छन् । झ्याल नभएको झुप्रो डेरामा पुग्दा खातुनसँग कवाडी सङ्कलन गर्ने ठूलो तर रित्तो थैलो थियो । अनि थियो, उहाँहरूको भोको पेट ।
जोगीको घरमा सन्यासी पाहुना झै भाइबुहारीको तीन वर्ष अघि मृत्यु भएपछि खातुनका ६० वर्षीय भाइ इस्लाम पनि भारत जोगबनीबाट आउनु भयो । इस्लामका दुई छोरा रोजगारका लागि भारतको दिल्ली गएपछि फर्किएका छैनन् । भारत मधुबनीको नरैयामा विवाह गरिएकी छोरी प्रविणा खातुनका पति पनि १० वर्ष अघि बिते । छोरी र छोरीतर्फका तीन नाति र १ नातिनीसहित राजविराज आउनु भएका इस्लाम पनि दिदी झैँ पन्नी र कार्टुन सङ्कलन गर्नुहुन्छ ।

दुई साताअघि उहाँको घरपट्टीको मृत्यु भयो । कोभिड वा अन्य कारणबारे उहाँहरूलाई पत्तो छैन । कोभिडको महाव्याधिले धेरै परिवार तहसनहस बनाएको छ । र, तहसनहस बनाएको छ, खातुन र इस्लाम जस्ताको जीवन पनि । कोभिडकाल सुरू हुनुभन्दा पहिले दिनभर कवाडी सङ्कलन गरेर जसोतसो परिवारको पेट पालिरहेको पन्नीवालीको परिवारका हरेक सदस्यको पेट रितिँदै आएको छ । कोभिडका कारण वैशाख २५ गते मध्यरातदेखि निषेध आदेश सुरू भयो । पसलहरू बन्द भए । सवारी साधन ठप्प रहे । आवतजावत नभएर सडक सुनसान बने । त्यहि बेलादेखि उहाँहरूले बाटोहरूमा भेट्न छाड्नु भयो फोहोर, प्लास्टिकका बोतल र कार्टुन !
बजार बन्द भएर उहाँहरूले सङ्कलन गर्ने फोहोर फ्याँक्न अहिले व्यापारी र सेवाग्राही कसैले पाएका छैनन् । कोभिडले ‘बन्दाबन्दी’ हुँदैनथ्यो भने एक जनाले गरेको सङ्कलनबाट २ सय रुपियाँदेखि ३ सय रुपियाँसम्म सजिलै कमाइ हुन्थ्यो । इस्लाम भन्नुहुन्छ–‘अहिले बाहिर निस्किन पनि पाइएको छैन । निस्के पनि कवाडी पाइँदैन । त्यसमाथि प्रहरीले बजार निस्कन दिँदैन । त्यसैले अहिले उहाँहरू उज्यालो नहुँदै बस्तीका गल्लीगल्ली पुग्नु हुन्छ । भेटिएका कवाडी उठाउनु हुन्छ र हतारमा फर्किनु हुन्छ । आम्दानी आधा बढी खोसिएको छ । सरकारले घर बाहिर निस्कनेलाई कडा सजाय र जरिबाना तोकेको छ । तर, पन्नीवाली परिवारको भोको पेट सरकारको आग्रहबाट भरिने कुरा भएन । त्यसैले भोको पेट भर्न प्रहरी खटिनु अगावै उहाँहरू कवाडीभित्र भोजन खोज्दै हिँड्न थाल्नु भएको छ ।

पहिले काम गर्दा हुने कमाइबाट साँझ र बिहान रोटी भात खान पुग्थ्यो । अहिले भोजन चिया भुजामा झरेको छ । आफ्नो बाध्यता सुनाउँदै प्रविणाले भन्नुभयो–‘आज कमायो, आजलाई ठीक्क हुनेले दैनिक कवाडी टिप्न पाएन भने त भोकै मरिन्छ ।’ निषेध आदेशका कारण कवाडी टिपेर खानेहरूको पीडा चुलिएको छ । दुःख र चिन्ता, भोक र सूर्ता स्थायी साथी भएका छन् । आफ्नो पीडा सुनाउँदै पन्नीवालीले भन्नुभयो–‘लामो समयसम्म निषेध आदेश जारी भयो भने हामी जस्ता रोगबाट होइन, भोकबाट नै मर्छौँ ।’