राजनीतिक दलहरूले आचार संहिता उल्लङ्घनका क्रियाकलापहरू रोकेको पाइएन । दलहरूले निर्वाचन आचार संहिता विपरित निर्वाचन प्रचार प्रसारमा रहेका छन् । यस सम्बन्धी उजुरी पनि निर्वाचन कार्यालयहरूमा नपरेको जिल्ला निर्वाचन कार्यालयहरूले जनाएका छन् ।
बाँकेको नेपालगन्ज उपमनपा– १७ मा जसपाको घरदैलो कार्यक्रममा बालबालिकाको प्रयोग गरेको पाइएको छ । निर्वाचन आयोगले र्याली तथा प्रचार प्रसारमा बालबालिकाको प्रयोग नगर्न निर्देशन दिए पनि वडा अध्यक्ष पदका उम्मेदवार मोहन लाल द्विवेदी, सदस्य जवाहिर लाल कलवार,मन्सुर दर्जी, महिला सदस्य खुस्बु श्रीवास्व, दलित महिला सदस्य,सावित्री सोनखरसहितको टोलीले घरदैलो कार्यक्रममा जाँदा बालिबालिकाहरूलाई र्यालीमा सहभागी गराएको पाइएको छ । यसैगरी नेपालगञ्ज उपमनपामा गठबन्धनका उम्मेदवार, नेकपा एमाले, राप्रपालगायतका दलहरूले निर्वाचन आयोगले तोकेको मापदण्ड भन्दा बाहिर गएर प्रचार प्रसार गरेको पाइएको छ ।

बर्दिया प्रतिनिधि मानबहादुर चौधरीका अनुसार राजनीतिक दलहरू निर्वाचन आचार संहिता बाहिर गएर प्रचार प्रसारमा सहभागी भएका छन् । गुलरिया नगरपालिका– ९ मा मन्दिरमा नेपाली कांग्रेस पार्टीको उमेदवारको फोटो सहित व्यानर लगाएका छन् । गुलरिया नपा– ८ स्थित मन्दिरमा नेपाली जनमत पार्टीको उमेदवारको फोटो सहित पमप्लेट टाँसेको छ । गुलरिया नपा–९ स्थित मथुरा स्वास्थ्य चोकीको गेटको ढोकामा, कालाबञ्जरमा नेकपा एकिकृत समाजवादी पार्टी, नेपाली कांग्रेस पार्टी, र जनता समाजवादी पार्टीका आशापुरमा नेकपा माओवादी केन्द्रलगायतका उमेदवारको फोटोसहित व्यानर लगाएको पाइएको छ । यसैगरी, गुलरिया नपा–८ मा नेकपा माओवादी केन्द्रको घरदैलो कार्यक्रममा बालबालिकाको प्रयोग गरेको पाइएको छ ।

कपिलवस्तु प्रतिनिधि पार्वती आचार्यका अनुसार विभिन्न राजनीतिक दलहरूले बालबालिको प्रयोग गरेको पाइएको छ । विगतका निर्वाचनमा जस्तो भोज भतेर नगरेको भएपनि प्रचार प्रसारमा आचार संहिता उल्लङ्घन गरेका छन् । यसैगरी, जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले म्यादी प्रहरीको ड्रेसको दुरुपयोग गरी समाजिक सञ्जालमा कानुनले बर्जित गरेको विषयमा टिकटक बनाउने १६ वर्षीय बालकलाई वैशाख १९ गते बाणगंगा नपा–४ गजेहाडा बाट गिरफ्तार गरेको छ । म्यादी प्रहरी १९ वर्षीय पुरन भट्टराई पनि गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

रुकुम पूर्व प्रतिनिधि मनिषा केसीका अनुसार जिल्लास्थित बिभिन्न राजनीतिक दलहरुले निर्वाचन आचार संहिता उल्लंघन गरेका छन् । चुनाव प्रचारप्रसारमा राजनीतिक दलहरुले अचारसंहिताको उल्लंघन गरेको पाइएको छ । सबै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय रहेको ठाउँ नजिकैका विभिन्न स्थान तथा घरमा राजनीतिक दलहरूका झण्डा राख्ने गरेको, राजनीतिक दलका चुनाव चिन्ह अंकित पोशाक लगाएर पोशाक लगाएर प्रचार गर्ने गरेको, गाडी, अटो, मोटरसाइकलमा झण्डा राखेर चर्को ध्वनी साउण्डबक्स बजाउने गरेको पाइएको छ । मुख्य निर्वाचन अधिकृत सनतचन्द्र लवटको संयोजकत्वमा रहेको जिल्ला निर्वाचन अनुगमन समितिले अनुगमन गर्दा दलहरूले आचार संहिता पालना नगरेको पाइएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ । लवटलका अनुसार समितिले अनुगमन पश्चात राजनीतिक दलहरू र उम्मेद्वारहरूलाई विभिन्न स्थानमा राखिएका झण्डा हटाउन र निर्वाचन आचार संहिताको पालना गर्न निर्देशन दिएको छ ।



